Logo

मेक्सिकोमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

स्तावेज,भाद्र २३ गते शुक्रवार २०७४,मेक्सिको सिटी – मेक्सिकोमा बिहीबार राति शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) ले जानकारी दिएको छ ।  शक्तिशाली भूकम्पबाट कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ । मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भएपनि उक्त भूकम्प निकै शक्तिशाली भएकोले राजधानीसम्म पनि कम्पन महशुस गरिएको बताइएको छ । 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यस भूकम्प ८.१ म्याग्निच्युडको रहेको जानकारी दिएको छ । यस भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात व्यक्तिको मृत्यु भएको राज्य नागरिक प्रतिरक्षा विभागका एक अधिकारीले पुष्टि गरेका छन् । त्यसै गरी छिमेकमा पर्ने तबास्को राज्यमा दुई व्यक्तिको मृत्यु स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भूकम्पको केन्द्रबिन्दू चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट करिब १२० किलोमिटर दक्षिणतर्फ रहेको बताइएको छ । उक्त भूकम्पपछि शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन् ।

प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठुलो क्षतिको अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको र हालसम्मको समाचार अनुसार कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । त्यसै गरी उद्दारका लागि पनि ठुलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सुनामीको खतरा, सामुद्रिक क्षेत्र वरपर सतर्कता  जारी
 
यसैबीच, उक्त भूकम्पका कारण सुनामी आउनसक्ने चेतावानी दिइएकोले समुद्री क्षेत्रहरुमा सतर्कता अपनाइएको छ । समुद्री सतहका बस्तीहरु खाली गर्ने क्रम सुरू भएको छ । भूकम्प शक्तिशाली भएकोले सामुद्रिक किनारवरिपरी निकै नै खतरा रहेको सूचना सार्वजनिक रुपमा जारी गरिएको छ । 
 
भूकम्पको समयमा समुद्रको छाल नियमितभन्दा कम्तीमा पनि तीन मिटरसम्म परसम्म पुगेको थियो । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविद्हरुले जनाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्