Logo

राजधानीका पसलहरूमा छापा, ४७ सयको जुत्तालाई २७ हजार !

 

स्तावेज,भाद्र १९ गते सोमवार २०७४,काठमाडौँ – अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने पसलहरूले ६ गुणासम्म नाफा खाने गरेको भेटिएको छ । आपुर्ति मन्त्रालयले चाडपर्वको बेलामा हुन सक्ने कालोबजारीलाई दृष्टिगत गर्दै गरेको छड्केका क्रममा यस्तो भेटिएको हो । आपूर्तिमन्त्री शिवकुमार मण्डल सहितको टोलीले आज काठमाडौंमा विभिन्न ब्राण्डका सामान बेच्ने पसलहरूमा अनुगमन गरेको थियो । 

दरबारमार्गस्थित नाइक ब्राण्डका जुत्ता तथा अन्य कपडाहरू बेच्ने एभिन्यु मार्केटिङले ४७ सयमा खरिद गरेको जुत्तालाई २७ हजारमा बेच्ने गरेको फेला परेको छ । त्यो पनि ४० प्रतिशत छुटपछि  एक सय रुपैयाँमा खरिद गरेको मोजालाई १४ सयसम्ममा बिक्री गरेको समेत भेटियो । नियमानुसार २० प्रतिशतभन्दा बढी नाफा खाएर कुनै पनि व्यापारीले सामान बेच्न पाइँदैन ।

आपूर्ति मन्त्री र आपूर्ति विभागका महानिर्देशक सहितको टोलीले दरबारमार्ग आसपासका पसलहरुमा अनुगन गरेको थियो । अनुगमनपछि प्रतिक्रिया दिँदै आपूर्ति मन्त्री मण्डलले चाडपर्वको बेलामा हुन सक्ने कालोबजारी नियन्त्रणमा मन्त्रालयले ध्यान दिएको बताए । 

अहिले दरबारमार्ग आसपासका पसलहरुले ६० प्रतिशतसम्म छुट घोषणा गरेका छन् । दशैंको मौकामा छुट घोषणा गरेका उनीहरुको अवस्था के छ भनेर अनुगनम गरिएको थियो । अनुगमन टोलीले पसलहरुमा छुट सुरु हुनुपूर्वको विक्रि विल र अहिलेको विक्रि विल मागेको थियो । तर अधिकांश पसलेहरुले भिडाएर विल दिन सकेनन् । 

अनुगमनमा मागिएका आवश्यक कागजपत्र नपाएपछि विभागले दरबारमार्गका केही पसलहरुमा सिल गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, भेन्च्युसेन र मिटर्स पसलमा विभागले सिल गरेको छ । साथै सिटी सेन्टर र भाटभटेनीमा समेत विभागले अनुगमन गरेको छ । विभागले पसलेहरुलाई २४ घण्टाको म्याद दिएर सिल गरेको छ । २४ घण्टा भित्र आवश्यक कागजपत्र लिएर विभागमा आउन पसलेहरुलाई समय दिइएको विभागका अधिकारीले बताएका छन् ।

पसलेहरुले राजश्वमा समेत गडबढी गरेको भए आपूर्ति विभागले राजश्व अनुसन्धान विभागलाई यसबारे जानकारी गराउने जनाएको छ । अनुगनका क्रममा खरिद र विक्रिको विल विजक दुरुस्त नराखिएको, अत्यधिक महंगोमा सामान बेचिएको लगायतका अवस्था फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्