Logo

चर्चित अभिनेत्री करिष्मा मानन्धरले गरिन् बिध्यालय भर्ना

स्तावेज,भाद्र १९ गते सोमवार २०७४,काठमाडौँ – नेपाली चलचित्र क्षेत्रमा लामो समयसम्म राज गरेकी चर्चित अभिनेत्री तथा नयाँ शक्ति नेपालकी नेत्री करिष्मा मानन्धरले करिश्मा मानन्धर ९ कक्षामा पढ्दैछिन् । ७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएको बताउने करिष्माले अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले बिध्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेको बताइन् ।

गत वर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल (कक्षा आठ) पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् । यसवर्ष भने उनी ग्यालेक्सीमा नभई मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन् । नयाँ शक्ति पार्टी नेपालले सोमबार सीमित सञ्चारकर्मीसँग गरेको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा करिष्माले आफूले बिध्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी हुन् । एक वर्षदेखि नयाँ शक्ति पार्टी नेपालमा सक्रिय रहेकी करिश्मा राजनीतिमा सक्रिय भएपछि धेरै कुरा सिक्न पाएको बताइन्। 

उनले भनिन्, ‘गत वर्ष मैले गीता म्या’मको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल दिएको हो । यो वर्ष मैतीदेबीको त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएर पढ्दै आएको छु ।’  १४ वर्षको उमेरदेखि अभिनय सुरु गरेकी करिश्माले त्यसपछि पढाइ छुटेको बताइन् । ‘७ कक्षा पढ्दै गर्दा सिनेमा क्षेत्रमा सक्रिय भएको र सफलताको शिखरमा समेत पुगेको भए पनि औपचारिक शिक्षाको अभाव भने खड्किरहेकाले सोको पूरा गर्न बिध्यालयमा भर्ना भएको बताइन् ।

‘सिनेमा त मैले पिएचडी नै गरेँ भनेपनि हुन्छ, तर औपचारिक शिक्षा भने भएन, त्यही अभाव पूरा गर्न अहिले अध्ययन थालेको हुँ’, उनको भनाई थियो । उनले पार्टीको कामका साथै फिल्मी क्षेत्रको व्यस्ततालाई पन्छाएर सकेसम्म धेरैभन्दा धेरै दिन बिध्यालय जाँदै आएको दाबी गरिन् । उनले अहिले आएर अध्ययन थाल्दा रमाइलो महसुस भएको पनि बताइन् । सो क्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आर्यघाटमा नपुगेसम्म पढ्ने र सिक्ने क्रम नसकिने भन्दै करिष्माले अध्ययन थालेकोमा खुसी व्यक्त गरे ।

 स्मरण रहोस् करिष्माको एकमात्र छोरी कविता हाल स्नातक तहमा अध्ययनरत रहेकी छिन् । व्यवहारिक शिक्षाका सँगसँगै औपचारिक शिक्षाको पनि उत्तिकै महत्त्व रहेको बुझेर बिध्यालय भर्ना भएको करिष्माको भनाई छ । यसो त कलाकारको रूपमा देश विदेश चहार्दा सधैँ आफूलाई औपचारिक शिक्षा पूरा गर्न नपाउँदा दुःख लाग्ने गरेको र त्यही पीडालाई शान्त पार्न अहिले बिध्यालयको ढोकासम्म पुगेको उनले खुलाइन् ।

प्रतिक्रिया दिनुहोस्