Logo

ह्यु्स्टनमा भारी वर्षाका कारण जनजीवन अस्तब्यस्त

          हेर्नुहोस् भिडियो

 दस्तावेज संवाददाता भाद्र १३ गते मंगलवार २०७४ – ‘ हुरिकेन हार्बी’ नामक आँधीपछि ह्यु्स्टन टेक्सासमा भएको अधिकांश सडक र मुख्य हाइवेहरु बाढीका कारण डुबानमा परेका छन् भने कैयन घर र व्यवसायहरु डुबेका छन् र जनजीवन अस्तब्यस्त भएको छ ।

भारी वर्षाका कारण ह्युस्टनका सडक/ वस्तीहरु सुमुद्रजस्तै लाग्दैछन् । कतिपय स्थानमा १० फिट भन्दा बढी पानी भरिएको छ । उद्धारमा देखिएको तदारुकता र छरितोपनले यति बिभत्स लाग्ने विपत्तिमा समेत धेरै मानवीय क्षति भने हुन पाएन ।

सयौँ साना डुङ्गा , अग्ला ट्रकहरु र हेलिकप्टरले डुबानमा परेकाहरुलाई लगातार उद्धार गरिरहेका छन् । स्थानीय चर्च र स्कुलहरु बाढीबाट प्रभावितहरुको आश्रयस्थलमा बदलिएका छन् ।

अमेरिकाको टेक्सास राज्यको एउटा महत्वपूर्ण र ठुलो शहर र वरपरका कयौँ स्थानहरुमा  नाम दिइएको  “हुरिकेन हार्बी “बिनाशकारी आँधी र त्यस सँगसँगै भैरहेको भारी बर्षा र हावाहुरीले जनधनको ठुलो क्षति भैरहेको छ । लाखौंँलाख स्थानिय बासीहरु प्रभाबित मात्र बनेका छैनन् उनिहरुका घर डुबानमा छन र उनिहरु सेल्टर लिन वाध्य भएका छन् ।

शुक्रबार रातिदेखि सुरु भएको आँधी सहितको वर्षाले ह्युस्टनको उध्योगधन्दा, व्यापार, स्कुल, विमानस्थल पुरै बन्द भएका छन् । मानिसहरु घरबाहिर निस्कन समेत सकेका छैनन् । ह्युस्टन महानगरको डाउनटाउन, मेयरल्याण्ड, साइप्रस, केटी, रिचमण्ड, क्लियरलेक, लिगसिटी, मेडिकल सेन्टर, रोजन्सवर्ग सर्वाधिक प्रभावित भएका छन् । प्राय: सबै हाइवे र फिडर रोडहरु यतिखेर नदी र तलाउमा परिणत भएका छन् । जहाँ गाडी होइनन् डुंगाहरु परिचालन गरिएका छन् । 

सरकारले केही स्थानहरुमा सर्वसाधारणलाई आफ्नो घर छाडेर सुरक्षित ठाउँमा जान आदेश दिएको छ । स्थानीय चर्चित बेन्टब हस्पिटलमा समेत सबै बेडहरु खाली गरेर बिरामीहरुलाई अन्यत्रै सारिएको छ । मौसम विभागले आउँदो बुधबारसम्म वर्षा जारी रहने जनाएको छ । भिषण बर्षाले नेपालीहरु समेत विस्थापित भएका छन् ।

झण्डै एक दर्जन भन्दा धेरै नेपाली परिवार विस्थापित भएर सुरक्षित स्थानमा सरेका छन । यसबाट प्रभावित  हुने नेपाली संख्या अरु बढ्ने स्थानीय नेपालीले बताएका छन् । नेपाली समुदायले निर्माण गरेको पशुपतिनाथ मन्दिरमा समेत बाढी पसेको छ । कतिपय स्थानहरुमा बिध्युत सेवा समेत अवरुद्ध भएको छ ।

पीडितको राहत र बसोबासको लागि सबै समुदाय जुटेका छन् । धेरै रेष्टुरेन्टहरुले पीडितहरुका लागि नि:शुल्क खानाको समेत व्यबस्था गरेका छन् । २५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । १३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको यस आँधी बुधबारदेखि मौसममा सुधार आउने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्