Logo

तीजमा दिदीलाई चिठ्ठी

“दिदी , हाम्रो जीवनलाई समयले अत्यन्त अव्यवस्थित आँधिहरु भित्र पारिदियो । घरको दैलो उघारेर बाढी पसेपछि, जिन्दगीको दैलो उघारेर जिन्दगी नै बगाएको महशुस भैरहेछ । बाढीको भेलले घर बगाएको सबैले देखे तर मनभित्र आँशुको भेल बगेको कसैले देखेनन् । “
       
     – नवराज क्षितिज
 
 प्यारी दिदी !
 
 जिन्दगी कहिल्यै सोचेजस्तो सहज भएन ! बर्षदिनको तीजमा तपाईँलाई लिन जाउँला, मिठो मसिनो खाउँला भनेर मनले ताना बुनिहरेको थियो तर  सबै  चाहनाहरु बाढीले बगाइदियो । अहिले त तपाईँलाई लिन आउने मोटर भाडासम्म पनि छैन र बस्ने  घरपनि छैन दिदी । भूकम्पले क्षतबिक्षत बनाउँदा होस् या बाढीले तहस नहस बनाउँदा नै  होस् ,हामीले कहिल्यै पनि नियतीको प्रतिबाद गर्न सकेनौं । अनेक विडम्बनाहरु  अगाडि आएर पटकपटक घाइते बनाइदिरहेको छ हामीलाई र हाम्रो मन नराम्रोसंग दुखाइरहेको छ ।
दिदी  ! जिन्दगीमा धेरै कुराहरु त  खाली पेट र खाली गोजीले सिकाउँदोरहेछ । नियतीले दिएको फैसलको प्रतिबाद गर्न नसकेपछि आजभोलि पीडादायी दिनहरुसंग जुध्नु परिरहेको छ । तपाईँको लागि एकजोर कपडा किनिदिन्छु भनेर सोचिरहेको थिएँ , केहि दिन सुख दु:ख बाडौंला भन्ने सोचे थिएँ  सबै  अधुरै रह्यो  । समयले बेसरी थिचिदिएको छ यो बेला  । हाम्रो ओठ र मनबाट हाँसो हराएको छ । हाँस्न  बिर्सनु भनेको  बाँच्न बिर्सनु भनेको जस्तै रहेछ नि दिदी !
 
 थाह छ दिदी  ?  हेर्दाहेर्दै हाम्रो घर बाढीले बगाउँदा मन कति विछिप्त भयो ? केहि  सामान निकाल्न पनि समय मिलेन । ज्यान भने बल्ल बल्ल बचाउन सक्यौं । विपत्तिको ठुलो चट्टान बनेर हाम्रो सामु उभिदियो पापी समय । हामी सानै हुँदा बुबा आमाले कति दु:ख गरेर बनाउनु भएको घर आँखै अगाडि  पानीमाथि तैरिदै , डुब्दै बगिरहँदा , अनुहारमा कर्कटपाताजस्तै खुम्चिएको झन्डै ७५ हिउँद खेपिसक्नुभएका बुवा पटक पटक भक्कानिनु भएको थियो । आमाको मन पग्लिएर आँखाबाट चुहिन छोडेको थिएन । यी दृश्यहरु मेरो आँखै अगाडि  भैदिदा मेरो मुटुको धड्कन पटक पटक उछिट्टीन खोजिरहेथ्यो ।
 
 लोकचारले मानिसलाई भुलाउने मात्र हो । सहानुभूति र राहत वितरण गर्न भनी लोकचार पार्न आएकाहरु,कुहिएका र गन्हाएका एक बोरा चामल दिएर आफ्नो कर्तब्य पूरा भएकोमा गर्व गर्दै घाँटीमा फूलमाला लगाउँदै हिड्छन् । पीडितलाई राहत वितरणको नाममा यस्तो ब्यबहार भैदिदा दुखेको मनमा झन् च्वास्स बिझिदिन्छ बारम्बार ।
 नियतीले थिचिएपछि, अप्ठ्याराहरुले किचेपछि जीवन, जीवन जस्तो नहुँदो रहेछ नि है, दिदी ? नियतीले हानेको झटारोले मुटुमै लागेर घाउ बनेको छ । थाह छैन घाउ निको भईन्जेल सम्म कति  पीडा बेहोर्नुपर्नेछ कुन्नि ? हुनत दु:खबाट छुटकारा पाउन आफूभन्दा दु:खीहरुलाई हेर्नुपर्छ भन्छन् ।  पेटमा अन्न नपसेको ६ दिन भैसक्यो , हरमा चिसो कपडा लिएर आएको त्यहि हो ,अर्को छैन सबै बगायो । न घाम लाग्दा छेलिने छानो छ, न पानी पर्दा ओतिने पाली छ  , हामी भन्दापनि दुखिहरुपनि होलान् र दिदी ?
 
 आकाशले घरीघरी डर देखाइरहन्छ अझैपनि । आकाशमा मात्र होइन हृदयभित्र पनि भावुकताको बादल मडारिरहन्छ ।  चिन्ता लिन्न भन्दा  भन्दै पनि नलिई सुखी छैन । बस्ने घर , खाने अन्न , लगाउने  कपडाहरु सबै बाढीसंगै  मित लगाएर गए । हामी बाध्य छौं तर आँखाको आँसु आखामै सुकाउन  निकै गाह्रो हुँदोरहेछ दिदी !
 
  हामी धेरै तराईबासीहरु बाढी र डुवानको दोसाँधमा परिरहँदा , कुनै बेला तराई र मधेशको हकहितको लागि  आन्दोलनमा जान उर्दी जारी गर्ने राजपाका नेताहरु सबै काठमान्डौ पो रहेछ्न्  । सुन्नुस न दिदी …….. !  मधेस डुब्दा हेर्नसम्म आएनन् , कस्ता नेताहरु रहेछन् ?  मधेस अधिकारको एजेन्डा बनाएर आफ्नै व्यक्तिगत स्वार्थहरू पुरा गरिरहने यी नैतिक रुपले पतन भैसकेका डेट एक्सपाएर नेताहरु जबसम्म रहिरहनेछन् , तबसम्म नेपालीहरुले कहिल्यै सुख पाउने छैन ।
 सरकारले आफ्नो इमान्दारिता देखाउने  ठाउँ यहि हो ।  मौका पनि यहि हो ,जनतालाई सरकार छ भन्ने प्रत्याभूति देखाउने समयपनि यहि हो । तर  एकद्दार नीतिले हामीलाई राहत पाउन निकै अप्ठ्यारो भैरहेको छ । दैनिक अत्यावश्यक सामानहरु समयमै पाउन सकिरहेका छैनौं । दैनिक औषधीको अभाबले तड्पिएर राहत पाउने आशामै फेरि धेरैले ज्यान गुमाउन नपरोस् ! 
 
 पीडाका कुराहरु मात्र छन् दिदी आजभोलि हामीसंग । कहिलेकाही त हामीले पाएका पीडाहरु सबै सपना भैदिएपनि हुन्थ्यो नि जस्तो लाग्छ , तर के भैदिन्थ्यो र  ?  कहिलेकाही सत्य कुराहरु निकै तीतो भैदिंदोरहेछ , जुन हामीले भोगिरहेका छौं !
 
 दिदी , अन्तमा जति बगाए पनि जति नै कष्ट भोग्नुपरे पनि सम्भावनाका पर्दाहरु खोलेर सहज हुन् सिक्नुपर्नेरहेछ । तपाईँ नआत्तिकन बस्नुस है  ? माइतीबाट तपाईँलाई लिन आएनन्  भनेर मायाँ मारेछन्  माइतीले नसम्झनुहोला । अर्कोवर्ष सम्ममा अलिकति पैसा कमाउँला , सानो भए पनि घर बनाउँला र यो बर्षको पीडा बिर्सेर अर्को तीजमा रमाउँला दिदी । यो पटकको तीजमा नीयतिसंग हाम्रो केहि लागेन , न खाने अन्न रह्यो न बस्ने बास रह्यो ……… ।
      
        उही तपाईँको भाइ …….
     
      हाल,आवुधावी युएई
प्रकाशित मिती, २०७४ साल भाद्र ६ गते, मंगलबार
प्रतिक्रिया दिनुहोस्