तीज विशेष – “हो …..हरेक वर्ष मेरो गाउँ रुन्छ “
– दीपशिखा शर्मा
हरेकवर्ष आउने तीज पर्वले महिला दिदी बहिनीहरूलाई नयाँ उत्साह नयाँ उमंग एवं नयाँ ऊर्जाको रक्तसंचार गराएर जाने गर्दछ । १९ औँ शताब्दीतिर विवाहित महिलाहरूको सुख दु:ख शेयर गर्ने,दिदी बहिनी भेट भएर मिठो मसिनो खाने र आत्मियता साट्ने पर्वको रूपमा तीजलाई लिईने गर्दथ्यो । जसले गर्दा वर्षभरि श्रीमानको घरमा चरणकी दासीको रूपमा कामगर्दै आएकी चेलीलाई बर्षदिनको तीजमा माईत गएर खुसी साट्ने छुट हुन्थ्यो । सबै चेलिहरुको व्यथा कथा एउटै हुने हुनाले दुख सुख आदान प्रदान गर्दा जुन किसिमको सौहार्दता र सन्तुष्टी,अपनत्व तीज पर्वमा मिल्ने गर्दथ्यो त्यो क्रमशः रङ्ग उडे झैँ फिका र बेरंगी बन्न थालेको छ ।
कथित पितृसत्ताको जाँतोबाट पिसिएका थिचिएका चेलीबेटीहरुको करुण चित्कारहरुलाई गीत सङ्गीतको माध्यमद्धारा सर्वसाधारणलाई सम्प्रेषण गर्ने माध्यम नै तीज हुन्थ्यो । वर्षभरि पराई घरमा रहेर सासु,ससुरा,नन्द,आमाज्यू,देवर जेठाज्यूबाट भोग्नुपरेको चरम मानसिक यातना एवं घृणा तिरस्कार तीजको कारुणिक गीतको रूपमा चेलीबेटीहरुबाट निस्कीन्थ्यो । फलत: सुख दुःख साटासाट गर्दागर्दै हजारौँ दिदीबहिनीहरुको दर्द र वेदना तीजको लहरले पखालेर लैजान्थ्यो । असंख्य वेदनाका वावजुद जन्मदिने आमाको हातबाट बनाएको मिठो मसिनो खाएर कैयौँ चेलीबेटीहरुले आफ्नो पिडाहरु चटक्कै भुल्दथे । आफन्तज, दिदी बहिनीसँगको भेटघाट,भलाकुसारी जस्ता कृयाकलापहरुबाट उनीहरूको आत्मबल बढ्नुका साथै पराया घरमा सङ्घर्ष गर्न थप उत्प्रेरित गर्दथ्यो ।
आजकल यस्तो रुढिवादी परम्परा समाजबाट हराउँदै गएको छ । नारीलाई भोग र बिलासका पुतलाको रूपमा हेर्ने संकुचित सोच भएका व्यक्तिहरू समाजमा बिरलै पाईन्छन् । पक्कैपनि यसलाई सकारात्मक पक्ष मान्नुपर्छ । सासु,ससुरा,नन्द,आमाज्यू,देवर जेठाज्यूबाट शोषित पीडित हुनुपर्ने जमाना आज छैन । तसर्थ कसैलेपनि अपहेलित र तिरस्कृत भएर बाँच्नुपर्ने अवस्था आज छैन । तथापि तीजको मर्म जुन,जुन रौनक हुनुपर्ने हो आज त्यो एक अंशपनि भएको पाईदैन । सौहार्दतापूर्वक मनाईने पर्व तीज आजकाल विकृति उन्मुख हुँदै गइरहेको छ ।
तीजको वास्तविक रङ्ग फिकापर्दै जानुमा बढ्दो शहरीकरणलाई प्रमुख मान्न सकिन्छ । बढ्दो शहरकिरणसँगै हाम्रा मूल्य र मान्यतारुमापनि क्रमशःप्रश्नचिन्ह लाग्दै जान थालेका छन् । माईतीको आँगनमा गएर खुसी साट्ने, दिदी बहिनीबिच आत्मियता बढाउने पर्व क्रमशःतारे होटेल र पार्टी प्यालेसहरुमा गएर खुम्चिएको पाइन्छ । माईतीका चोक,गल्ली,र आँगनहरु क्रमशः बिरानो बन्दै गइरहेका छन् । बर्षदिनको तीजमा चेलीबेटीको लागि खुवाउन आमाले साँचेर राखेका अनदी चामल र कनजिरा बासमती चामलमा क्रमशःघुनपुत्लाहरु लाग्न थालिसकेका छन् । चाडबाड आउनासाथ सुनसान गल्लीहरुमा बुढा भएका आमाहरू आ–आफ्ना छोरीहरुले मनाएका तीजका रमाइला क्षणहरुका दर्पण छाम्दै यत्रतत्र भौंतारिईरहेको देखिन्छ । बिहे गरेर घरजम गरी बसेका एवं बाध्यताले बिदेशिएका साथै सहर पसेका चेलीहरु भरसक गाउँपस्न चाँहदैनन् । चेलीहरुको अनुपस्थितिमा एउटा दर्दनाक पिडा लिएर हाम्रो गाउँ बाँचिरहेछ । हो गाउँ गाउँजस्तो छैन,बिल्कुलै छैन ……………. चेलिहरुको पर्खाईमा हरेक वर्ष गाउँ रुन्छ । प्रत्येक वर्षको तीजमा चेलीबेटीहरु हर्षोल्लासले झुम्ने मेरो प्यारो गाउँ आज तिनै चेलीहरुको अनुपस्थितिमा एक भग्नावशेषतुल्य भइरहेछ ………
पितृसत्तालाई सघाउ पुर्याउने पौराणिक कथाका व्याख्यालाई निस्तेज पार्दै बजारीकरण भएको तीजले हिन्दु र गैरहिन्दु दुवै थरीका महिलालाई आफ्नो रङ्गमा रंगाउँदै गएको छ । तीजको आगमनसँगै पसलमा ठडिएका निर्जीव ‘डमीहरू’ पनि रातो पहिरनमा सजिएका देखिन्छन् । सहरमा लागेका तीज मेलामा चुरा, टीका, पोते, धागो आदि किन्न युवतीको लर्को देख्दा ‘कमोडिटी क्रेज’को अनुमान गर्न गाह्रो हुँदैन । झन् तीजलाई ‘नेपाली नारीहरूको महान् चाड’ भनेर व्याख्या गरेको हुनाले राष्ट्रियताको आकर्षण पनि थपिएको छ, जसले हिन्दु नेपाली महिलामात्रै होइन, गैरहिन्दु महिलापनि यस चाडलाई उत्साहपूर्वक मान्न लागेका छन् । तीज आउने कहिले हो कहिले, महिनौं अगाडिदेखि तीजका गीतका भिडियो र अडियो रिलिज हुन थाल्छन् । पत्रपत्रिका र सामाजिक सञ्जालका भित्ताहरू तीज गीत विमोचनका समाचार र फोटोहरूले रंगिन थाल्छन् । बजारमा भित्रिएका नयाँ डिजाइनका रातो, हरियो सारी, चुरा पोते, सुनका गरगहना, नयाँ डिजाइनका छड्के तिलहरी र गरगहनामा सजिएर नाच्दै गरेका महिलाको फोटो र भिडियोले गर्दा हिन्दु संस्कार नमान्ने महिलाहरू पनि नजानिँदो पाराले तीजको रङ्गमा रंगिन थालेका छन् ।
बजारतन्त्रको प्रभावले घरपरिवारभित्र मनाउने तीज अब सामुदायिक ‘कार्निवल’ बन्दै गएको छ । परापूर्वकालीन परम्परालाई त्यागेर तडकभडकलाई पछ्याउन थालेको छ । पसलमा सजिएका निर्जीव ‘डमी’ झैँ शहरी महिलाका शरीरमा प्रचलित फेसनका रातो लुगा र गहनाका विज्ञापन सजिन थालेका छन् । पार्टी प्यालेसका महँगा दर कार्यक्रमले शहरी महिलाको सम्पन्नता बढेको जस्तो भ्रम देखिन्छ ।
तीज आउनु महिनौं अघिदेखि नै भड्किला पार्टी र महँगा दर कार्यक्रम गर्ने जाँड रक्सी र बियर सेवन गर्ने,तीजका गीतका भिडियो र अडियो बजाउँदै म्युजिकको तालमा वर्षभरि चिरनिद्रामा सुतेका नारी अधिकार र स्वाभिमानका महत्त्वपूर्ण पक्षहरू , थाकेका, धर्मराएका भारी शरीरहरु एक नीर्जीव जीजिबिशा झैँ अर्धचेतन मनस्थितिमा फनफनी घुमेपछि तीज पर्वको अन्त्येष्टी हुन्छ । न अपनत्व,न मितब्ययिता,न सुखद अनभुती सिर्फ एउटा आडम्वरी परम्परा र संस्कार धान्ने पर्वको रूपमा मात्र तीजलाई लिन थालिएको छ ,चाडवाडको बाहानामा विकृति एवं छाडा संस्कृति मौंलाउँदै गएको पाइन्छ ।
तीजको दिन पशुपति परिसरमा पूजाका थाली बोकेर गरगहनाले सु-सज्जित भएका रातो महिलासागर हेर्दा एकमनमा लाग्छ, यी सबै एकजुट भए भने रूढिवादी आस्थाको आधारशिला भत्काउन समय लाग्दैन होला । तर वर्षौंदेखि दिमागमा जरा गाडेर बसेका विभेदकारी संस्कार यति सजिलोसँग के गरी जान्थे र ? फरक महिलाका फरक तीज अनुभव रहेपनि दुईमत छैन, जुनदिन महिलाले ‘एकदिने रमाइलो चाड’को विरुद्ध शंखघोष गर्दै तीनसय चौंसट्ठी दिनमा आफूखुसी बाँच्ने आधार भेट्न थाल्छन् त्यही दिनदेखि धर्मान्ध तीजको अन्त्य हुनेछ । एक दिनको रमाइलोको भ्रमजालोबाट बाहिरिन सजिलो छैन । यसमा सामूहिक प्रयास भने पक्कै चाहिन्छ ।
हामीले हाम्रा कला,संस्कृति, मान्यताहरू हाम्रो समाज र समय अनुसार परिवर्तन त गर्नुपर्छ तर विकृति उन्मुख हुनुहुँदैन । हाम्रा चाडपर्व र अनुष्ठानलाई भेदभावरहित, लिङ्ग विभेदरहित, पूर्वाग्रहरहित, जातपात र छुवाछूतरहित बनाउन केन्द्रदेखि दुरदराजसम्म सकारात्मक सामाजिक रूपान्तरणको प्रयास आवश्यक छ । नत्र क्षणिक रमाइलोको लोभमा र परम्परा धान्ने भ्रममा तीजलाई पतिको दीर्घायुको कामना गर्ने पर्व, पितृसत्तात्मक परिवारमा आधारित तीजको लैंगिक विभेद एवं यौनिक नियन्त्रणलाई स्वीकारोक्ति दिने पर्व भन्दा अत्युक्ती नहोला । शहरिया तीजको उन्मत्त लहरमा बग्दै “उखरमाउलो बैँस छोप्ने चीजै भएन………..” “चोरी खान पल्केको ढाडे बिरालो…………. ” र “पोइल जान पाम………….पाम……… ” जस्ता अश्लील एवं विकृति उन्मुख गीतमा कम्मर मर्काउँदै छाडा संस्कृतिको दास बनेका तमाम चेलीबेटीहरुलाई सचेत गराउनुपर्ने बेला आएको छ । तसर्थ चाडवाडको बाहानामा आयातित विकृति र बिसंगतीहरुलाई कुल्चँदै हरतरहबाट निरुत्साहित गरौँ,तीजलाई गरगहनाको प्रदर्शन गर्ने, नाफा कमाउने र फेशन देखाउने चाडको रूपमा दुरुपयोग नगरौं । त्यसको अलावा हाम्रा सन्ततीलाई तीजको महत्त्व र महिमाको बारेमा सिकाउने र विदेशी माझ प्रचारप्रसार गरी नेपाली कला, संस्कृति र परम्परागत मूल्य मान्यताको जगेर्ना र संरक्षण गरौँ ,समाजमा सकारात्मक सन्देश फैलाउँ,समस्त दिदिबहिनिहरुलाई हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना !
प्रकाशित मिति २०७४ साल भाद्र ५ गते आइतबार