Logo

अब ‘नाडा अटो शो’ ४ पांग्रे र २ पांग्रे सवारी एउटै छानामुनि- आम्दानीबाट ५ लाख रुपैयाँ तराईका बाढी पीडितलाई दिने

स्तावेज संवाददाता भाद्र ४ ,शुक्रवार,२०७४ , काठमाडौं –  नाडा अटो शो को १२ औं संस्करण भाद्र १३ देखि १८ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ। विभिन्न ब्राण्डका सवारी साधनहरु प्रदर्शनी र बिक्रीका लागि एकै ठाउँमा आयोजित शो को प्रायोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालि रहेका छन् । सन् १९९८ देखि आयोजना भइरहेको ‘नाडा अटो शो’ को तयारी भव्य रुपमा भइरहेको प्रायोजक नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘नाडा अटो शो’ को तयारी द्रुत गतीमा अगाडि बढिरहेको छ ।

 यसपालिको प्रदर्शनी विगतमा भन्दा भव्य बनाउने तयारी गरिरहेका छौं।’ ‘नाडा अटो शो’  को ब्रान्ड एम्बेसडरमा मह जोडी अर्थात् कलाकारद्दय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नियुक्त गरिएको पनि श्रेष्ठले जानकारी दिए । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘नाडा अटो शो’ मेलामा ९० संस्थाका १ सय ३० स्टल रहने जानकारी दिइएको छ । जसमा १६ ब्रान्डका ४ पांग्रे, १९ ब्रान्डका २ पांग्रे र छ ब्रान्डका हेवी कमर्शियल सवारी साधन रहने जानकारी दिइयो । प्रदर्शनीबाट भएको आम्दानीबाट ५ लाख रुपैयाँ तराईका बाढी पीडितलाई दिने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनले यसअघि नै प्रायोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको तर्फबाट नेपाल उध्योग वाणिज्य संघले संकलन गरिरहेको बाढी पीडितका लागि सहयोग स्वरुप ५ लाख दिइसकेको जानकारी दिए । अटो शो तयारी समितिका उपसंयोजक दीपककाजी तुलाधरले प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारीसाधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसिरिजहरु लगायत वित्तिय संस्था तथा इन्योरेन्स कम्पनीहरुको सहभागिता रहने जानकारी दिए। प्रदर्शनीमा विभिन्न सवारी साधनको अवलोकन गर्न र तिनका बारे सम्पूर्ण सूचना पाउन सकिने तुलाधरले बताए ।

६ दिनसम्म चल्ने प्रदर्शनीमा प्रवेश टीकटमा बम्पर पुरस्कारको व्यवस्था गरिएको छ । अवलोकनकर्ताहरुमध्ये एक जनाले युएम रेनेगडे कमान्डो २ सय ३० सिसी मोटरसाइकल उपहार पाउनेछन् । प्रदर्शनीमा ५० हजार जनाले अवलोकन गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्