Logo

पत्रकारहरुमा चुनावी चहलपहल शुरु, निर्वाचन कार्यतालिका प्रकाशित

दस्तावेज, भाद्र ३ ,२०७४,काठमाडौं – पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने महाधिवेशनको निर्वाचन कार्यतालिका शनिबार सार्वजनिक भएको छ । प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावली उपर दाबी विरोध आजै १२ बजेसम्म गर्न सकिनेछ भने मतदाताको अन्तिम नामावली प्रकाशन शनिबार ४ बजे गर्ने निर्वाचन समितिको तयारी छ ।पत्रकार महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेहरुले उम्मेदवारी दर्ता भदौ ४ गते दिउँसो १२ बजेदेखि अपरान्ह ३ बजेसम्म गर्न सक्ने जानकारी निर्वाचन समितिले दिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते पौने ४ बजे प्रकाशित हुनेछ । 

उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समेत समय दिइएको छ । निर्वाचन समितिले भदौ ४ गते अपराह्न ३ः४५ देखि १ घन्टाको समय दाबी विरोध तथा उम्मेदवारी फिर्ताका लागि दिएको छ ।निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते बेलुका ५ बजे प्रकाशित हुनेछ ।

महासंघको नयाँ नेतृत्वका लागि भदौ ५ गते मतदान हुनेछ । मतदान समय बिहान ९ बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गर्ने कार्यतालिकामा उल्लेख छ । नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य खडा भएका छन् भने एमाले निकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ ।

प्रेस चौतारीलाई नयाँ शक्तिलगायत साना संगठनको समर्थन रहेको छ । चौतारीबाट उपाध्यक्ष पदमा अनलाइन खबरकर्मी मात्रिका पौडेलको समेत उम्मेदवारी परेको छ । 

साभार,अनलाईन खबर 

प्रतिक्रिया दिनुहोस्