Logo

पाँच हजार परिवारलाई राहत

स्तावेज संवाददाता,भाद्र १ गते बिहिवार ,२०७४,काठमाण्डौं – बाढी पहिरोको विपत्ति लगत्तै स्थानीय प्रशासनसँगको समन्वयमा उद्धारमा खटिँदै आएको नेपाली सेनाले प्रभावित क्षेत्रमा राहत सामग्री समेत पुर्‍याइरहेको छ । चार हजार आठ सय ७० परिवारमा त्यस्तो राहत सामग्री पुर्‍याइएको सेनाले जनाएको छ । नेपाली सेनाको टोली हेलिकप्टर सहित उद्धार र राहत वितरणमा खटिइरहेको छ । सेनाको एमआई १७ हेलिकप्टर र ट्रक मार्फत राहत सामग्री पीडित समक्ष पुर्‍याइएको हो ।

        विभिन्न क्षेत्रमा पीडितको उपचारमा समेत सेना सक्रिय रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाका उद्धार टोलीले घाइते र बिरामीको उपचारका साथै जीर्ण घरमा पुरिएका सामान निकाल्ने र घरभित्रको हिलो हटाई बस्नयोग्य बनाउने काम समेत अघि बढाएको विज्ञप्तिमा जनाइएको छ । अवरुद्ध सडकका खाल्डा पुरेर यातायात सुचारु गराउने, पानीको निकास दिने, हिलो तथा अन्य अवरोध पन्छाई विमानस्थल सञ्चालन गराउने लगायत काम भइरहेको सेनाले जनाएको छ । शव खोजी गर्ने काममा पनि सेना सक्रिय छ । कमला लगायत नदी तटबन्धमा समेत सेना लागिपरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्