Logo

वाक्सिङ कसरी गर्ने ?

शरीरमा भएका अनावश्यक रौँ निकाल्ने कार्य हो, वाक्सिङ । अहिले युवा उमेरदेखिका महिला तथा पुरुष दुवैले शरीरका अनावश्यक रौँँ निकाल्न वाक्सिङ गर्ने गर्छन् । केही वर्षअगाडिसम्म सौन्दर्य बढाउन महिलाले मात्र वाक्सिङ गराउने गर्थे । पछिल्लो समय पुरुषहरूले छाती र हातका रौँँ निकाल्न वाक्सिङ गर्न थालेका छन् । महिलाले भने हात, खुट्टा, काखीमुनिका रौँँ निकाल्न वाक्सिङ गर्छन् । शरीरका रौँ निकाल्ने यो निकै सरल र सुलभ तरिका हो । यसैकारण यो तरिका लोकप्रिय भएको हो । यो तरिकाबाट रौँ निकाल्दा बिस्तारै रौँको रिग्रोथ कम हुनगई पछि न्यून हुन जान्छ । वाक्सिङ गर्दा हट वाक्स र कोल्ड वाक्स गरी दुई प्रकारको केमिकल प्रयोग गरिन्छ । चिनी र कागतीको रसले बनाएको लेसाइलो पदार्थ नै वाक्स हो । वाक्स गर्नलाई कटन कपडा र केही जरुरी सामान, जस्तै: तताउने हिटर, बडी लोसन, चिसो÷तातो पानी र टलकम पाउडरको आवश्यकता पर्छ । 

वाक्सिङ गर्ने तरिका

आवश्यक सामान जुटाउन सकेमा वाक्सिङ घरैमा सहज तरिकाले गर्न सकिन्छ । तर, वाक्सिङ गर्नुअगाडि जान्ने व्यक्तिसँग जानकारी लिँदा राम्रो हुन्छ । वाक्सिङ गर्दा हट या कोल्ड वाक्स प्रयोग गरिन्छ । यी दुवै प्रकारको वाक्सलाई वाक्सिङ हिटरद्दारा तताइन्छ । यसरी वाक्सिङ हिटरमा वाक्स तातेपछि बटर नाइफको सहायताले रौँ निकाल्ने क्षेत्र वा रौँ पलाएको स्थानमा लगाइन्छ । कटन पत्ती वा वाक्सिङ स्ट्राइप वाक्स लगाएको एरियामाथि राखी हल्का थप्थपाउने । त्यसपछि रौँ पलाएको एन्टिडाइरेक्सनमा हल्का झड्का दिई रौँ निकालिन्छ । 

रौँ निकालिसकेपछि यस क्षेत्रलाई चिसो टावेलले पुछ्ने । सो एरियामा कोकाबटर अथवा बडी लोसन लगाउनुपर्छ । वाक्सिङ गर्दा कुनै पनि प्रकारको साइड इफेक्ट भएमा छालामा हल्का रातो दानाजस्ता खटिरा देखापर्न सक्छ । यस्तो भएमा चिसो पानीको पट्टी वा आइस क्युबद्वारा सेक्नुपर्छ । त्यसमा कोकाबटरजस्तो क्रिम वा लोसन दलेर समाधान गर्न सकिन्छ । आयली स्किन भएको अनुहारमा वाक्सिङ गर्दा केही सावधानी अपनाउनुपर्छ । वाक्सिङ गर्दा रौँ निकालिसकेपछि हल्का चिसो पानीले अनुहार सफा गर्नुपर्छ । यसपछि स्किन टोनर प्रयोग गर्नुपर्छ ।

अनुहारमा बढी चिल्लो, साना या ठूलो डन्डिफोर, घाउ, खटिरा, सुन्निएको, इन्फेक्सनजस्ता समस्या भएमा वाक्सिङ नगर्नु नै राम्रो हुन्छ । किनकि, वाक्सिङमा झड्काले रौँ निकाल्ने भएको कारणले रौँवरिपरि भएको तैलीय ग्रन्थि बिथोलिन गई तैलीय पदार्थ बढी उत्पादन हुन्छ । यसले अनुहारमा पिम्पल झन् बढी आउने तथा अन्य समस्या बढी हुन्छ ।

वाक्सिङका फाइदा

शरीरका अनावश्यक रौँ हटाएर सुन्दर देखिन्छ ।
वाक्सिङ सस्तो र सुलभ उपचार विधि हो ।
यसको साइडइफेक्ट धेरै कम हुन्छ ।
अनावश्यक रौँ हटाउँदा शरीरमा पसिना जमेर दुर्गन्ध निस्कन पाउँदैन ।

ध्यान दिनुपर्ने कुरा

अनुहारमा वाक्सिङ गर्दा विशेष ध्यान दिनुपर्छ । अनुहारको स्किन शरीरको तुलनामा धेरै संवेदनशील हुन्छ । वाक्सिङ गर्दा मुहारको आँखा, ओठ र नाकमा पार्नु हुँदैन । वाक्स एक प्रकारको ग्लु नै हो । त्यसैले यो आँखामा पर्दा घातक पनि हुन सक्छ ।

  साभार नयाँ पत्रिका

प्रकाशित मिती २०७४ साल श्रावण ३१ गते बुधबार 

 

प्रतिक्रिया दिनुहोस्