Logo

इरानमा बीबीसी कर्मचारीको सम्पत्ती रोक्का

स्तावेज संवाददाता ,श्रावण ३१, गते २०७४- बीबीसीले इरानमा रहेका आफ्ना कर्मचारीहरुको सम्पत्ति रोक्का गर्न गरी इरानी अधिकारीहरुले जारी गरेको एउटा आदेश फिर्ता लिन आग्रह गरेको छ।बीबीसी विश्व सेवाकी निर्देशक फ्रान्सेस्का अनस्वर्थले बीबीसी पर्सियनका वर्तमान तथा पूर्व कर्मचारी र केही सहयोगीहरुलाई ‘ निशाना बनाएर गरिएको आक्रमण’को निन्दा गरेकी छन्।

इरान सरकारको आदेशका कारण त्यहाँस्थित बीबीसीका कर्मचारीहरुलाई घरजग्गा, कार तथा अरु सामान खरिद वा विक्री गर्न बाधा पुगेको उनले बताएकी छन्।पछिल्ला वर्षहरुमा इरानी अधिकारीहरुले बीबीसी पर्सियनका कर्मचारी र तिनका परिवारका सदस्यहरुमाथि नियमितजसो दुर्व्यवहार गर्ने तथा धम्की दिने गरेको पाइएको छ।

इरानमा बीबीसी पर्सियनका टेलिभिजन, रेडियो र अनलाइन सेवा प्रतिबन्धित छन्।बीबीसी पर्सियनले अचल सम्पत्ति रोक्का गरिएका १५२ जना वर्तमान तथा पूर्व कर्मचारी र सहयोगीहरुको नाम रहेको एउटा अदालती आदेशको प्रतिलिपि प्राप्त गरेको छ।तेहरानको एभिन जेलस्थित शाहिद मोगादास अदालतले उक्त आदेश जारी गरेको हो।बीबीसी पर्सियन सेवालाई उक्त आदेशबारे जानकारी दिइएको थिएन र एकजना कर्मचारीको सम्पत्ति उनको वारेसनामा प्राप्त आफन्तले बेच्न खोज्दामात्र त्यस्तो अदालती आदेशका बारे थाहा भएको थियो।

इरानको न्यायपालिकाले अदालतको आदेशबारे केही बताएको छैन।बीबीसी विश्व सेवाकी निर्देशक अनस्वर्थले मंगलवार एउटा वक्तव्यमा भनेकी छन्, “बीबीसी पर्सियनका कर्मचारी, पूर्व कर्मचारी तथा केही सहयोगी माथि लक्षित देखिएको आक्रमणको हामी निन्दा गर्छौँ।”

बीबीसी पर्सियनको व्यवस्थापनले इरानी अदालतको आदेशलाई निष्पक्ष पत्रकारहरुलाई चुप लगाउने इरानी न्यायपालिकाको अर्को प्रयास भनेको छ।इरानमा प्रतिबन्धित भएपनि पछिल्लो तथ्यांक अनुसार त्यहां बीबीसी विश्व सेवाको झण्डै एक करोड तीस लाख स्रोता छन्, जुन बीबीसी न्यूजको सातौं ठूलो बजार हो।

बीबीसी

प्रतिक्रिया दिनुहोस्