Logo

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकालाई दिए पारमाणविक कार्यक्रम शुरु गर्ने चेतावनी

स्तावेज, श्रावण ३१ गते, मंगलबार, २०७४- इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले थप प्रतिबन्धहरु लगाएमा आफ्नो मुलुकले ‘केही घण्टाभित्रै’ पारमाणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी दिएका छन् । अबका पारमाणविक कार्यक्रम सन् २०१५ मा सीमित पारिएको अवस्थाभन्दा बढी आधुनिक हुने उनले बताए।शक्ति राष्ट्रहरुसँगको एउटा सम्झौतापछि इरानले आफ्नो पारमाणविक कार्यक्रम सीमित पारेको थियो।आफ्नो बलेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लक्षित गरी अमेरिकाले लगाएका प्रतिबन्धहरु सम्झौता विपरीत रहेको इरानको तर्क छ।

तर अमेरिकाले इरानको क्षेप्यास्त्र परीक्षणले संयुक्त राष्ट्रसंघीय प्रस्तावको उल्लंघन गरेको दावी गरेको छ। राष्ट्रसंघीय प्रस्तावले पारमाणविक सम्झौतालाई अनुमोदन गर्दै परमाणु अस्त्रसँग सम्बन्धित कुनै प्रकारको परीक्षण नगर्न आह्वान गरेको थियो।

इरानले परमाणु युद्धशीर्ष बोक्न सक्ने कुनै प्रकारको बलेस्टिक क्षेप्यास्त्रको परीक्षण नगरेको र आफ्नो पारमाणविक कार्यक्रम नितान्त शान्तिपूर्ण रहिआएको बताउँदै आएको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताबाट अमेरिका अलग हुने चेतावनी दिँदै आएका छन्।

गत जनवरीको अन्त्यतिर इरानले गरेको एउटा क्षेप्यास्त्र परीक्षणपछि ट्रम्पले ‘इरानका आक्रामक कदमहरुप्रति अमेरिका आँखा चिम्लेर ननबस्ने’ चेतावनी दिएका थिए। उक्त परीक्षण प्रत्यक्ष रुपमा पारमाणविक सम्झौता विपरीत भएको नबताएपनि अमेरिकाले २५ जना, क्षेप्यास्त्र कार्यक्रमसँग र इरानको शक्तिशाली रेभोल्युशनरी गार्डसँग सम्बन्धित संस्थामाथि प्रतिबन्ध लगाएको थियो।                   बीबीसी 

प्रतिक्रिया दिनुहोस्