Logo

राजविराज– १५ का डोमी यादवका परिवारलाई प्रशासनले १० लाख रुपैयाँ राहत दिने घोषणा

स्तावेज संवाददाता,श्रावण २९ गते आईतबार २०७४,लहान –  स्थानीय खाडो खोलाले गरिरहेको कटान रोक्न सुरक्षाकर्मीलाई सघाउने क्रममा बेपत्ता भएका सप्तरीको राजविराज– १५ का डोमी यादवका परिवारलाई  प्रशासनले १० लाख रुपैयाँ राहत दिने भएको छ।

 जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले बेपत्ता परिवारलाई तत्काल क्रिया खर्चस्वरूप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाले गत बिहीबारदेखि खोजी गरिरहे पनि नभेटिएकाले यादवको मृत्यु भएको आशङ्का गरिएको छ।

 समितिले हनुमाननगर कंकालिनी नगरपालिका, रम्पुरा मल्हनियाँ, डलवा र तिलाठीका बाढी पीडितलाई राहत र बासका लागि त्रिपालको व्यवस्था मिलाए पनि लगातारको वर्षाका कारण वितरण गर्न समस्या भएको जनाइएको छ।

 समितिले महुलीमा आएको बाढीबाट प्रभावित कञ्चनरुप नगरपालिका ९ रघुनाथपुरका चार र रुपनी गाउँपालिकाका दुई गरी ६ परिवारलाई २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको प्रजिअ कटवालले बताए। समितिले जिल्लाका बाढीबाट प्रभावितको तथ्याङ्क तत्काल संकलन गरी प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ।

प्रतिक्रिया दिनुहोस्