Logo

केन्याली विपक्षीद्दारा मतपरिणाम ह्याक भएको खुलासा

केन्याको निर्वाचन आयोगले उसको कम्प्युटर प्रणालीमा ह्याकरहरु घुसेर मतपरिणाम प्रभावित पारेको भन्ने विपक्षीको आरोपको छानबिन गर्ने बताएको छ। राष्ट्रपतिय निर्वाचनमा विपक्षी उम्मेदवार राइला ओडिंगाले मतपरिणाम प्रभावित हुने गरि त्यहाँको चुनाव आयोग प्रणाली ह्याक भएको आरोप लगाएका हुन् । गत साता मारिएका एक वरिष्ठ निर्वाचन अधिकारीको पहिचान प्रयोग गरेर त्यस्तो ह्याक गरिएको पनि उनले आरोप लगाएका छन्।

करिब ९० प्रतिशत मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ५४ प्रतिशत सहित केन्याटा उनका प्रतिस्पर्धी ओडिंगाभन्दा १० अंकले अगाडी छन्। यसले केन्याटा पहिलो चरणको विजयतर्फ उन्मुख भएको देखाएका छन्। केन्याका निर्वाचन प्रमुखले प्रणालीप्रति आफ्नो पूर्ण विश्वास रहे पनि आरोपहरुको छानबिन हुने बताए ।

किसुमु

मत परिणामबारे ओडिंगाले टिप्पणी गरे लगत्तै पश्चिमी नगर किसुमुमा उनका समर्थकहरुको प्रहरीसंग झडप भएका छन्। प्रहरीले अश्रु ग्यास प्रयोग गरेको छ। एउटा पत्रकार सम्मेलनमा बोल्दै ओडिंगाले आफ्ना समर्थकहरुलाई संयमित हुन भनेका छन्। तर विपक्षीको गढ रहेको किसुमुमा उनका सयौं समर्थकहरुले राइला ओडिंगा विना शान्ति हुँदैन भन्ने नाराबाजी गरेको त्यहाँस्थित बीबीसी सम्वाददाताले बताएका छन्। हालसम्म अन्य त्यस्ता घटना भएका छैनन् ।

पत्रकारहरुसंग बोल्दै राजधानी नैरोबीमा आन्तरिक सुरक्षा सम्बन्धी मन्त्रीले केन्यालीहरुलाई सामान्य जीवनयापन गर्न भनेका छन्। देशको सुरक्षामा जोखिम भए सामाजिक सञ्जालको पहुँच नियन्त्रित गरिने उनले बताए। पछिल्लो घटनापछि कतिपयले एक दशक अगाडी त्यहाँ भएको निर्वाचन हिंसाका घटना पुन: दोहोरिने चिन्ता व्यक्त गरेका छन्।

केन्यामा दश वर्ष अगाडी भएको विवादित निर्वाचनपछि भड्किएको हिंसामा ११ सय मानिसले ज्यान गुमाएका थिए। साथै ६ लाख मानिस विस्थापित भएका थिए। विपक्षी नेता ओडिंगा ७२ वर्षका छन्। उनले तीन पटक राष्ट्रपतिको निर्वाचन लडे र तीनै पटक हारे।

वर्तमान राष्ट्रपति केन्याटा ५५ वर्षका छन्। उनी केन्याका संस्थापक राष्ट्रपतिका छोरा हुन्। सन् २०१३ मा उनले ओडिंगालाई झिनो मत अन्तरले जितेका थिए। तर यी दुई नेताबीचको प्रतिस्पर्धा भने पुस्तौं पुरानो हो । सन् १९६० ताका उनीहरुका बुवाहरु राजनीतिक प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया दिनुहोस्