Logo

प्रधानमन्त्री शेरबहादुर देउवाद्दारा रक्षा मन्त्रालयको नयाँ भवनको शिलान्यास, तीन वर्षभित्र निर्माण गर्ने

स्तावेज ,श्रावण २५ गते बुधवार २०७४ काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार परिसरमा निर्माण हुन लागेको रक्षा मन्त्रालय भवनको शिलान्यास गरेका छन् ।   सिंहदरबार परिसरको दक्षिण पश्चिम नेपाली सेनाको क्याभलरी रहेको स्थानमा आगामी २०७७ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त भवन शिलान्यास गरिएको हो । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्ने राष्ट्रिय दायित्व बहन गर्ने उद्देश्यले २००८ सालमा रक्षा मन्त्रालयको स्थापना भएको थियो ।

प्रधानमन्त्री कार्यालयमा रहिआएको रक्षा मन्त्रालयको काम कारबाही भूकम्पबाट क्षति भएपछि राष्ट्रिय सुरक्षा परिषद सचिवालयको भवनबाट सञ्चालन हुँदै आएको छ। राष्ट्रिय सुरक्षासँग अति संवेदनशील कार्य रक्षा मन्त्रालयको जिम्मेवारीभित्र पर्दछ। आफ्नै व्यवस्थित र उपयुक्त भवनको अभावमा रक्षा मन्त्रालयबाट हुने कार्य सम्पादनमा कठिनाइ हुँदै आएको थियो । शहरी विकास मन्त्रालय, सिंहदरबार सचिवालय पुनःनिर्माण समितिमार्फत निर्माण हुने रक्षा मन्त्रालय भवनको लागत १९ करोड ३३ लाख रुपैयाँ रहेको छ।

  मुख्य भर्‍याङ, आपत्कालीन भर्‍याङ र लिफ्ट समेतको व्यवस्था रहने १०५ कोठाको उक्त भवनमा अग्नि निरोधक प्रणाली समेत जडान हुने बताइएको छ।  ‘तोकिएको समयभित्र गुणस्तरीय निर्माण गर्नुस्’ भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आर्थिक अनुशासनमा रहेर तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न सबै पक्षलाई आफ्नो जिम्मेवारीको विषयमा सचेत रहन निर्देशन दिए। उनले भने– भवन स्वीकृतिको नक्सांकन र प्रारुप बमोजिमको गुणस्तर र लागतमा तोकिएको समयभित्र सम्पन्न गर्न निर्माण कार्यमा संलग्न सबैलाई निर्देशन गर्दछु। 

 

 सिंहदरबार सचिवालय पुनःनिर्माण समितिबाट तयार गरी लागू भएको गुरुयोजना अनुरुप नै भवन निर्माण हुनेमा विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आन्तरिक र बाह्य परिवेशको परिवर्तन अनुकूल प्रशासनिक संयन्त्र बनाउनका लागि दक्ष जनशक्ति, उपयुक्त प्रविधि तथा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने बताए । रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै रक्षा मन्त्रालयले आफ्नो स्थापनाको उद्देश्यअनुरुप महत्वपूर्ण भूमिका निर्वाह गरी आएको बताए।

काठमाडौँ/निजगढ द्रुतमार्ग निर्माणको व्यवस्थापन नेपाली सेनालाई दिइएकाले मन्त्रालयले यसलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको पनि उनले जानकारी दिए। रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले प्रविधियुक्त अत्याधुनिक भवन निर्माणपछि मन्त्रालयको काम चुस्त र व्यवस्थित हुने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, प्रधान सेनापति राजेन्द्र क्षत्री तथा सरकारका उच्च पदस्थ अधिकृत सहभागी थिए।

  – रासस

प्रतिक्रिया दिनुहोस्