Logo

सडक बनाउँदा खनिएको खाल्डोमा परी एकै परिवारका चार बालिकाको मृत्यु

स्तावेज संवाददाता,श्रावण २१,शनिबार,२०७४ –  सर्लाही जिल्लाको गरुडा नगरपालिका–४ स्थित खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ४ बालिकाको शनिबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय राम एकवाल साहकी छोरीहरु १२ वर्षीया संगीता साह, ९ वर्षीया सुनिता, उनका राम एकवालका भाईहरु योगेन्द्र साहकी छोरी ९ वर्षीया सुनैना साह, प्रेम साहकी छोरी ९ वर्षीया सुस्मिता साह रहेको ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए । मृतकहरु एकै परिवारको भएको उनले जनाए । 

बिहान घाँस काट्न घरबाट निस्केका चारै जना बालिका दिउँसो अढाई बजेसम्म घरमा फर्केर नआएपछि उनीहरुको परिवारले खोजी सुरु गरेको थियो । करिब ३ बजे एकै ठाउँमा खाल्डोमा डुबेको अवस्थामा बालिकाहरुलाई फेला पारिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा पठाइएको निरीक्षक रेग्मीले बताए । 

चन्द्रनिगाहपुर–गौर सडकसँग जोडिएको नयाँ कच्ची बाटो निर्माणको क्रममा खेतमा खाल्डो खनिएको थियो । सडक भन्दा करिब ८ फिट गहिरो खाल्डो रहेको स्थानीयको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस्