Logo

रहेनन् हिन्दू दर्शनका प्रखर व्याख्याता : आचार्य खेमराज केशवशरणको बुधबार राति निधन

स्तावेज संवाददाता, श्रावण १९,बिहिबार २०७४, काठमाडौं –  संस्कृत र वैदिक दर्शनका ज्ञाता एवम् हिन्दू दर्शनका प्रखर व्याख्याता आचार्य खेमराज केशवशरणको निधन भएको छ। मष्तिस्कमा रक्तश्राव भएपछि चाबहिल मित्रपार्कस्थित दीर्घायु गुरु हस्पिटलको सघन कक्षमा झण्डै एक महिनाभन्दा लामो समयदेखि उपचाररत केशवशरणको बुधबार राति निधन भएको हो।

 संस्कृत व्याकरण, साहित्य तथा अंग्रेजी भाषा राम्रो ज्ञान भएका केशवशरण कविका रूपमासमेत परिचित छन्। उनका संस्कृत, नेपाली, हिन्दी र अ‌ंग्रेजी भाषामा गरी ४३ कृति प्रकाशित छन्। नेपाली साहित्यमा कृष्णभक्ति परम्परा र कवि गुणराज उपाध्याय ( समालाेचना २०३३), अन्तर्जगत् (निबन्धहरू २०३५), अाफैंतिर नियाल्दा (निबन्धहरू २०३६), समर्पण (भजनहरू २०३७), मृत्युपारिकाे जीवनयात्रा (काव्य २०४८), शान्तिप्रार्थना (भजनहरू २०६१), र्इशावास्य उपनिषद जीवनदर्शनकाे रूपमा (धार्मिक लेख २०६९) आदि उनका चर्चित कृति हुन्।

उनले रेडियो नेपालमा झण्डै ४ दशकसम्म धार्मिक कार्यक्रमसमेत सञ्चालन गरेका थिए। रेडियो नेपालमा बज्दै आएका ‘ॐ हर हर हर महादेव’, ‘नेपाल जननी बन्दे’ लगायत भजनहरु उनले नै रचना गरेका हुन् । उनी वि.सं. १९९४ मा भारतको आसाममा जन्मिएका थिए।

प्रतिक्रिया दिनुहोस्