Logo

गाईको दुध एचआइभीको लागि रामबाण,गाईबाट एचआइभी विरुद्धको खोप बन्नसक्ने

स्तावेज संवाददाता,श्रावण १८ , बुधबार २०७४ वासिङटन डी.सी. – अमेरिकी शोधकर्ताले गाईको सहयोगमा एचआइभी भ्याक्सिन (खोप) बनाउन सकिने बताएका छन् । शोधकर्ताहरुले भनेका छन्, ‘गाईले आफ्नो रोगबाट प्रतिरोधका लागि लगातार शरीरमा विशेष एन्टिबडी उत्पादन गर्ने गर्छ जसको उपयोगबाट एचआइभी भाइरस निमिट्यान्न पार्न सकिन्छ।’

कप्लेक्स ब्याक्टेरियायुक्त पाचन प्रणाली भएकाले गाईमा रोग प्रतिरोधी क्षमता धेरै विकास भएको अनुमान गरिएको छ। अमेरिकाको नेसनल इन्स्टिच्युट्स अफ हेल्थले यो नयाँ जानकारीको स्वागत गरेको छ ।

एचआइभी एउटा घातक भाइरस हो र यसले होस्ट (संक्रमित) को शरीरमा यति छिटो–छिटो आफ्नो ठाउँ परिवर्तन गर्छ जसले संक्रमितकोे शरीरको रोग प्रतिरोधी प्रणालीमा आक्रमण गर्ने अवसर पाउँछ। एउटा भ्याक्सिनले एचआइभी संक्रमितमा रोग प्रतिरोध प्रणाली विकास गर्न सक्छ र संक्रमणको पहिलो चरणमा रहेका सर्वसाधारणलाई बचाउन सक्छ ।  

इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाईको रोग प्रतिरोध क्षमताबारे परीक्षण थालेको थियो। अनुसन्धानकर्तामध्ये एक डाक्टर डेविन सोकले भने, ‘परीक्षणको परिणामले हामी चकित पर्‍यौं।’ गाईको रोग प्रतिरक्षा प्रणालीले केही सातामै आवश्यक एन्टिबडिज् बनाउँछ।

डाक्टर सोकले भने, ‘यो निकै अचम्मलाग्दो र उत्साहप्रद थियो। मानिसको शरीरमा एन्टिबडी विकसित हुन करिब तीनदेखि पाँच वर्षसम्म लाग्छ।’ उनको भनाइमा यो निकै महत्वपूर्ण छ, किनभने यसअघि एन्टिबडी विकास गर्नु यति सहज थिएन। उनले भने, ‘कसले थाहा पाएको थियो र एचआइभीको उपचार गर्न गाईको योगदान हुनेछ भनेर।’

‘नेचर’ जर्नलमा प्रकाशित अनुसन्धानको विस्तृत विवरणमा गाईको एन्टिबडीले एचआइभीको प्रभाव ४२ दिनमा करिब २० प्रतिशतसम्म समाप्त पार्न सकिने उल्लेख छ। प्रयोगशालामा गरिएको परीक्षणबाट तीन सय ८१ दिनमा यी एन्टिबडीले ९६ प्रतिशतसम्म एचआइभीको असर समाप्त गर्न सक्ने पत्ता लागेको छ।

अर्का अनुसन्धानकर्ता डाक्टर डेनिस बर्टनले यो अध्ययनबाट पत्ता लागेका तथ्य महत्वपूर्ण भएको बताए। उनले भने, ‘मानिसको तुलनामा जनावरका एन्टिबडी विशेष खालका हुन्छन् र तिनमा एचआइभी समाप्त गर्ने क्षमता हुन्छ।’

   श्रोत बीबीसी 

प्रतिक्रिया दिनुहोस्