Logo

अल्बर्ट आइन्स्टाइनको मस्तिष्क अध्ययन गर्ने प्रोफेसर मेरियनको ९० वर्षको उमेरमा निधन

स्तावेज,श्रावण १६ ,सोमबार, २०७४ – विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मस्तिष्कको अध्ययन गर्ने प्रोफेसर मेरियन क्लिभ्स डाइमन्डको सोमबार निधन भएको छ । क्यालिफोर्नियाको बर्कलेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर मेरियनको निधन अमेरिकाको ओकल्यान्डस्थित उनकै घरमा भएको विश्वविध्यालयले जनाएको छ ,उनी ९० वर्षकी थिइन्।

विश्वविध्यालयले उनको निधनमा जारी गरेको विज्ञप्तिमा प्रोफेसर मेरियन आधुनिक स्नायुविज्ञानका प्रवर्तकमध्ये एक भएको उल्लेख गरेको छ । विश्वविद्यालयले मानव मस्तिष्कको क्षमता अनुभवसँगै परिवर्तन हुने र सुधार तथा समृद्ध हुँदै जान्छ भन्ने प्रमाणित गर्ने पहिलो व्यक्ति भएको जनाएको छ।

सन् १९८४ मा आइन्स्टाइनको मस्तिष्कमा यस्तो क्षमता रहेको प्रमाणित गरेपछि उनी सेलिब्रेटी बनेकी थिइन् । उनले विश्वविख्यात वैज्ञानिकको सुरक्षित राखिएको मस्तिष्कका टुक्राको अध्ययन परीक्षणपछि त्यसमा रहेको क्षमता प्रमाणित गरेकी थिइन् । उनले आइन्स्टाइनको मस्तिष्कमा सामान्य मानिसको तुलनामा बढी सहायक कोष रहेको पत्ता लगाएकी थिइन्। 

प्रोफेसर मेरियनको प्रमुख अनुसन्धान ‘न्युरोप्लास्टिसिटी’मा थियो । न्युरोप्लास्टिसिटी भन्नाले मस्तिष्कले परिवर्तित परिस्थितिका आधारमा आफूलाई ढाल्छ वा विकास गर्छ भनेर मेरियनले प्रमाणित गरेकी थिइन् । जस्तै मस्तिष्कघात पछि क्षतिग्रस्त/बिग्रेका टिस्युसँग वरपरका टिस्युको सम्पर्क विच्छेद गरी मस्तिष्कले आफ्नो नियन्त्रणमा लिएर अत्यधिक ‘फङसनिङ’ का लागि फेरि ‘रिवायरिङ’ गर्छ । उनले मुसामा गरेको अध्ययनले समृद्ध वातावरणले मस्तिष्कको ‘एनाटोमी’ पनि परिवर्तन हुने देखाएको थियो । यसलाई मानवमा प्रयोग गर्दा उनले खराब वातावरणले मानव मस्तिष्कमा खराब असर पार्ने र वातावरणमा सुधार आए मस्तिष्क पनि त्यसैअनुसार सुधार/समृद्ध हुन्छ भनेर प्रमाणित गरेकी थिइन् ।

उनले मस्तिष्क सम्बन्धी पुराना अवधारणा भत्काएर मानव मस्तिष्कको असीमित क्षमता र परिस्थिति अनुसार विकास हुन सक्ने क्षमता प्रमाणित गरी बालबालिकालाई हुर्काउने तरिकामा घोत्लिन बाध्य बनाएको विश्वविध्यालयमा उनका सहकर्मी इन्टिग्रेटिभ बायोलजीका प्रोफेसर जर्ज ब्रुकले बताए । ब्रुकले भने, ‘डा मेरियनले पहिलोपल्ट मानव मस्तिष्कको न्युरोप्लास्टिसिटी क्षमता हामीबीच प्रमाणित गरिन् । मस्तिष्क जड हो, यसमा कुनै परिवर्तन हुँदैन र बुढ्यौलीमा ह्रास हुँदै जान्छ भन्ने पुरानो मान्यता तोडिन्।’

ज्यानेट हप्सनसँग मिलेर उनले सन् १९९८ मा मानव मस्तिष्क सम्बन्धी ‘म्याजिक ट्रिज अफ द माइन्ड : हाउ टु नर्चर योर चाइल्ड्स इन्टेलिजेन्स, क्रिएटिभिटी बलम हेल्दी इमोसन्स फ्रम बर्थ थ्रु एडोलेसेन्स’ पुस्तक लेखिन् । न्युरो साइन्सका केही वैज्ञानिकले उनको पुस्तकको आलोचना पनि गरे। 

उनले महिला र पुरुषको मस्तिष्कको संरचना नै फरक फरक हुने र मस्तिष्क उत्प्रेरित हुँदा शरीरको रोग प्रतिरोध प्रणालीमा सुधार आउने पत्ता लगाएकी थिइन्। उनले अनुसन्धानबाट मानव मस्तिष्कसम्बन्धी नयाँ नयाँ तथ्य मात्र पत्ता लगाएकी थिइनन् । उनी असल शिक्षिका पनि थिइन् । मानव मस्तिष्क र एनाटोमीसम्बन्धी उनका असंख्य युट्युब भिडियो लाखौंपटक हेरिएका छन्। 

  श्रोत स्वास्थ्य खवर पत्रिका

प्रतिक्रिया दिनुहोस्