Logo

पर्वतको अग्लो पुलबाट हाम फालेका एक जोडी मृत भेटिए, आत्महत्या गरेको हुनसक्ने शंका

स्तावेज संवाददाता श्रावण १५, आईतबार,२०७४ पर्वत – नेपालकै अग्लो पर्वतको कुश्मा ज्ञादी जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर एक जोडीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेका अनुसार ललितपुर उपमहानगरपालिका वडा नं. १४ ढोलाहिटी बस्ने २५ वर्षीय मुना राना र सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. ११ का २६ वर्षीय अकिन गुरुङले पुलबाट हाम फालेर आत्महत्या गरेका हुन्।

 उनीहरुले शनिबार राती अन्दाजी ९ बजेको समयमा हाम फालेको अनुमान गरिएको छ। उक्त समयमा नै झोलुङ्गे पुलमा बेबारिसे अवस्थामा २ ओटा झोला र छाता भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए। प्रहरीले कसैले झोला छोडेर आत्महत्या गरेको हुन सक्ने शंकामा राती नै पुल आसपासको क्षेत्रमा खोजी गरेको भए पनि केही उनीहरुको मृत शव भने आइतबार बिहान मात्र भेटिएको हो। पुलमुनि रहेको मोदी नदीको छेउको बाँझो चौरमा २ ओटा लास देखेपछि स्थानीयले प्रहरीमा खबर गरेपछि उनीहरुले रातीमा नै आत्महत्या गरेको पुष्टि भएको हो।

  घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र शवको पोष्टमार्टम भने उनीहरुका आफन्तहरु पर्वत आइपुगेपछि सोमबार मात्र गर्ने तयारी भइरहेको जिल्ला अस्पताल पर्वतमा कार्यरत प्रहरी जवान पूर्णबहादुर भण्डारीले जानकारी दिए। उनीहरुको झोला खान तलासी गर्दा ट्रेकिङमा जाँदा प्रयोग गरिने सामग्री, मोबाइल, जुत्ता लगायतका सरसामान भेटिएका थिए। मृतक युवाको मोबाइलमा सिमकार्ड नभएको कारण युवतीको मोबाइलबाट फोन गर्दा उनकी आमाले उठाएपछि मात्र उनीहरुको सबै परिचय खुल्न आएको हो। प्रहरीका अनुसार उनीहरु दुवै घरबाट ट्रेकिङमा जाने भन्दै निस्किएका थिए । उनीहरुको सम्बन्ध र घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक लामिछानेले थाहा खबरलाई जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्