Logo

कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ मन्त्री बन्दाबन्दै अन्तिम समयमा फालिए

  श्रावण १५,आईतबार,२०७४, काठमाडौं  –  कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार–हतार दौरासुरुवाल लगाउँदै थिए। त्यहीबेला उनको मोबाइलको घण्टी बज्यो  श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन, तपाईँलाई अर्कोपटक।’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिवले फोनमा ‘अर्कोपटक मात्र’ भनेपछि उनी ‘छाँगाबाट खसेझैं’ भए ।  

 चौथोपटक मुलुकको बागडोर सम्हालेका देउवाको ‘भद्रगोल शैली’बाट पनि चकित भए। देउवाले उनलाई मात्र नभई शपथको तयारी गर्न भनेका अन्य सांसदलाई पनि मन्त्री बन्ने सूचीबाट हटाइएको भन्दै सचिवालयबाट जानकारी गराउन लगाएका थिए। त्यसपछि ‘पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको’ गुनासो देउवाको कार्यशैलीबाट रुष्ट सांसदले गर्न थालेका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले नै बालुवाटारमा रहेका सांसदलाई दौरासुरुवाल लगाउन पठाएका थिए। तर, उनीहरूलाई राष्ट्रपति भवन शीतलनिवास नपुग्दै मन्त्री बनाउन सकिएन भन्दै ‘बेइज्जत’ गर्ने काम भयो। 

 आफूले वचन दिएकाहरूलाई मन्त्री बनाउन नसकेको खबर देउवाले स्वकीय सचिव केशव जोशीमार्फत प्रवाह गरेको पीडित सांसद बताउँछन्। श्रेष्ठ मात्र होइन, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्देम्बेलगायत पनि देउवाको भद्रगोल शैलीबाट पीडित बनेका छन्। ‘मन्त्री भयौं’भन्दै पार्टीका नेता, कार्यकर्ता, परिवारजन र शुभेच्छुकबाट शुभकामनासमेत आदानप्रदान गरिसकेका थियौं’, एक सांसदले भने, ‘यतिसाह्रो पीडित भइएला भन्ने कल्पना पनि थिएन।’ देउवाले प्रधानमन्त्री पदको शपथ लिएदेखि मन्त्रीको चर्चामा रहेका श्रेष्ठले देउवाबाटै रक्षामन्त्रीका लागि आश्वासन पाएका थिए। 

 देउवाका स्वकीय सचिवको फोन लगत्तै श्रेष्ठले घरमा उपस्थित आफन्तसँग ‘पञ्चायत जिउँदो हुन्थ्यो भने पनि मलाई यति ठूलो दण्ड दिइँदैनथ्यो होला’ भनी पीडा पोखेको आफन्तले दाबी गरेका छन्। संविधानसभा दोस्रो निर्वाचनपछि कांग्रेस संसदीय दलको प्रमुख सचेतक रहँदै आएका श्रेष्ठ आफ्ना समकक्षी एमालेका अग्नि खरेल, माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र हितराज पाण्डे पटक /पटक मन्त्री भइसकेकाले यसपटक आफ्नो पनि पालो आउनेमा ढुक्क थिए।

 एक महिना यता उनको नाम बालुवाटारबाटै कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका रूपमा चर्चामा ल्याएको थियो। देउवाका विश्वासपात्र कांग्रेस नेता विमलेन्द्र निधि, बालकृष्ण खाँणलगायतले दशैंपछि सरकार विस्तार हुने भन्दै त्यतिबेला मन्त्री बन्न श्रेष्ठलाई सुझाव दिएका थिए । श्रेष्ठले भने अहिले नपाए कहिल्यै नपाउने भन्दै अडान लिएपछि देउवाले रक्षामन्त्री बनाउने आश्वासन दिएको बालुवाटार स्रोतले जनाएको छ । कांग्रेसबाट मन्त्रीमा चर्चा पाएका अर्का नेता जोशीको पीडा पनि कम छैन । जोशीको नाम बालुवाटारबाटै मन्त्रीका रूपमा सार्वजनिक गरिएको थियो । मन्त्री हुने भन्दै ढुक्क भएका जोशीको नाम पनि अन्तिम समयमा काटिएको थियो। प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित जोशीको नाम सञ्चार माध्यममा पनि छ्यापछ्याप्ती भएपछि बधाइको ओइरो लागेको थियो।

 श्रोत, अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्