Logo

म्याग्दीमा एक वर्षमा ११८ जोडीले गरे सम्बन्धविच्छेद

स्तावेज संवाददाता श्रावण १४,शनिबार ,२०७४ म्याग्दी – पछिल्ला केही वर्षयता सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या ह्वात्तै बढेको छ । पारिवारिक मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको हो। जिल्लामा आ.व .२०७३/७४ मा ११८ विवाहित जोडीले सम्बन्धविच्छेद गरेका छन्।

जिल्ला अदालतमा गत आर्थिक बर्षमा १३० को सम्बन्धविच्छेद सम्बन्धी मुद्दा दर्ता भएकामा ११८ को फर्छ्योट भएको र १२ वटाको चालू आव २०७४/७५ मा जिम्मेवारी सरेको छ ।  अघिल्लो आर्थिक बर्ष २०७२/७३ मा ८० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए। अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा दर्ता भएको स्रेस्तेदार राजु ढुंगानाले जानकारी दिए।

सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एकार्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पुर्‍याएको हो ।  सानै उमेरमा विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा छुट्टिने समस्या बढेको छ। अभिभावकले सम्बन्धविच्छेद गर्दा बालबालिकाको शिक्षा र मनोविज्ञानमा नराम्रो असर परेको छ।

बालविवाहको न्यूनीकरण, परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शंका गर्ने बानी हटाउन जरुरी भएको कानुन व्यवसायी ध्रुवराज शर्माले बताए।  सानो उमेरमै अपरिपक्व अवस्थामा विवाह गर्नेहरु पारिवारिक, आर्थिक र सामाजिक जिम्मेवारी बहन गर्न नसक्ने तथा वैदेशिक रोजगारीका कारण श्रीमान् श्रीमती लामो समय टाढिँदा एक अर्कामा अविश्वास सिर्जना हुने र सम्बन्धविच्छेदको अवस्थामा पुग्ने गरेको पाइएको छ।  

प्रतिक्रिया दिनुहोस्