Logo

हिन्दू धर्मालम्बीद्दारा भगवान गणेशको तस्वीर अंकित ट्वाइलेट सिट हटाउन र माफी माग्न माग

श्रावण १० , सोमबार,२०७४ न्यूयोर्क – अमेरिकाको न्यूयोर्कको ब्रुकलिनमा मुख्य कार्यालय रहेको एक ई–कमर्श कम्पनी, इत्सीलाई हिन्दूहरुले भगवान् गणेशको तस्वीर अंकित ट्वाइलेट सिटको उत्पादन तत्काल बन्द गर्न र माफी माग्न माग गरेका छन्। एक हिन्दू अगुवा राजन जेदले एक विज्ञप्ति जारी गर्दै भगवान् गणेश हिन्दूहरुबीच अत्यन्तै उच्च सम्मानका साथ पुजिने देवता भएका र ट्वाइलेटमा राखिने नभएको बताएका छन्। हिन्दूहरुका आस्था र आराध्यदेवलाई अस्वाभाविक र अनुचित रुपमा व्यावसायिक प्रयोजनका निम्ति वा अन्य कुनै प्रयोजनमा प्रयोग गरिनुले अनुयायीहरुलाई चोट पुगेको उनले विज्ञप्तिमा जनाएका छन्।

 युनिभर्सल सोसाइटी अफ हिन्दूइजमका अध्यक्षसमेत रहेका जेदले इत्सी र यसका प्रमुख कार्यकारी अधिकृत जोश सिल्भरम्यानसँग अनुरोध गरेका छन् कि सो कम्पनी र प्रमुख कार्यकारीले क्षमा याचना गरुन् र ‘गणेश ट्वाइलेट सिट’को उत्पादन बन्द गरुन्। हिन्दू धर्म विश्वकै सबैभन्दा पुरानो र विश्वमै तेस्रो ठूलो धर्म भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘एक अर्बभन्दा बढी मानिसले अपनाएको र आस्था राखेको अनि महत्त्वपूर्ण दर्शनले सम्पन्न हिन्दू धर्मलाई ख्यालख्याल लिइनुहुन्न।’ विज्ञप्तिमा कुनै पनि आस्था र विश्वासमाथि खेलवाड गरिनु नहुने बताइएको छ, चाहे ती ठूला वा साना नै किन नहुन्। जेदले अगाडि भनेका छन् कि यस्ता गतिविधिले विश्वभरका हिन्दूहरुलाई मर्माहत बनाएको छ।

 जेदले इत्सीको लक्ष्य र नाराभन्दा उसको व्यवहार फरक भएको आरोप पनि लगाएका छन्। आफ्नो लक्ष्य प्राप्तिका लागि अरुको आस्थामा चोट पुर्‍याउन नहुने उनले बताएका छन्। जेदले इत्सी र अन्य कम्पनीहरुलाई उनीहरुका वरिष्ठ कार्यकारीहरुलाई धार्मिक र साँस्कृतिक संवेदनशीलताबारे तालिम लिन सुझाव पनि दिएका छन्, जसले गर्दा उनीहरुले नयाँ उत्पादन सुरु गर्नुअघि ग्राहकका धार्मिक, साँस्कृतिक संवेदनशीलता बुझ्न सकून्।

 ‘गणेश ट्वाइलेट सिट’को ‘आइटम डिटेल’मा भगवान् गणेशलाई ‘बाथरुम गणेश’का रुपमा चित्रित गरिएको छ र काइँयो, ऐना, ब्रस र दन्तमञ्जन बोकेका गणेश देखाइएको छ। उनको वाहन मुसालाई मुसाको जस्तै पुच्छर भएको काइँयोमा चित्रण गरिएको छ। भनिएको छ, ‘जन्मदिन, दीक्षान्त वा विाहका लागि पूर्ण उपहार।’

 यो इत्सी डट कममार्फत अमेरिकी डलर ८५ मा खरिद गर्न सकिने बताइएको छ। इत्सी सन् २००५ मा ब्रुकलिनको एउटा अपार्टमेन्टमा स्थापना भएको थियो र अहिले यसको मुख्यालय ब्रुकलिनमै रहेको छ भने फ्रान्स, जापान, अष्ट्रेलिया, क्यानडा, जर्मनी, बेलायत, आयरल्याण्ड, सान फ्रान्सिस्को, हडसनलगायतका स्थानमा पनि शाखाहरु रहेका छन्।

 इत्सीले आफूलाई विश्वव्यापी र्सजनशील व्यावसायिक मञ्च भन्दै आएको छ। यसले आफ्नो वार्षिक बिक्री सन् २०१६ मा दुई दशमलब ८४ अर्ब अमेरिकी डलर भएको दाबी गर्दै आएको छ । हिन्दू धर्ममा भगवान् गणेशलाई ज्ञानका देवता र बाधा हरणकर्ताका रुपमा पूजा गरिँदै आएको छ। अमेरिकामा ३० लाख हिन्दू रहेको अनुमान गरिएको छ।
   

  एजेन्सीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्