Logo

टिचिङमा हेलिप्याडसहितको १० तले भवन बन्ने, ६ महिनापछि कलेजो प्रत्यारोपण शुरु गरिने

स्तावेज संवाददाता ,साउन १, २०७४ काठमाडौं – महाराजगञ्जस्थित त्रिभुवन विश्वबिध्यालय शिक्षण अस्पतालले हेलिप्याडसहित अत्याधुनिक १० तले भवन निर्माण गर्ने भएको छ। अस्पतालको ३५ औं वार्षिकोत्सव समारोहमा अस्पतालका निर्देशक डा. दीपक प्रकाश महराले सो  कुरा बताएका हुन्। भवन निर्माणका लागि अस्पताल र भाटभटेनी सुपरमार्केट बीच लिखित समझदारी भएको निर्देशक डा. महराले बताए। हाल रहेको इमर्जेन्सी भवनको छेउमै रहेको  सुरक्षा गार्ड बस्‍न बनाइएको भवनलाई भत्काएर १० तले भवन बनाइने छ र सो भवन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आफ्ना आमा बाबुका नाममा बनाइदिन लागेको यो भवनमा विस्तारित स्वास्थ्य सेवा (इएचएस) मात्र सञ्चालन गर्ने योजना रहेको अस्पतालका निर्देशक डा. महराले बताए।

  ‘हामीले चाहेर पनि अस्पतालमा यो सेवा विस्तार गर्न सकेका थिएनौं’ निर्देशक महराले भने,‘नयाँ भवनमा इएचएसका बिरामीले मात्र पूर्ण रुपमा सेवा पाउनेछन् ’ उनले भने। ‘भाटभटेनी सुपरमार्केटले अस्पतालको मुलगेटसँगै अत्याधुनिक भवन निर्माण गरिदिने भएको छ,’ उनले भने, ‘१० तलाको उक्त भवनमा हेलिप्याडसहित उपचारका लागि अत्याधुनिक सुविधा हुनेछ।’ उनका अनुसार नयाँ भवनमा अत्याधुनिक उपकरणसहितको आधुनिक शल्यकक्ष लगायतका सेवा राखिनेछ।कार्यक्रममा बोल्दै अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनतालाई गुणस्तरीय सेवा पुर्‍याउने सरकारको उद्देश्यमा सहयोग गर्न अस्पतालको ठूलो भूमिका रहेको भन्दै सरकार अस्पताललाई आवश्यक पर्ने  सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए ।  उनले भने, ‘जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा भन्ने सरकारको उद्देश्यमा सहयोग गर्न अस्पतालको ठूलो भूमिका छ । त्यसैले अस्पताललाई आवश्यक परेको सहयोग गर्न सरकार तयार छ। अहिले पनि सरकारले अस्पताललाई आफ्नो क्षमता अनुसारको सहयोग गर्दै आएको छ।’

यस्तै, मन्त्री कार्कीले पछिल्लो समयमा  मेडिकल शिक्षामा व्यापारीककरण हुँदै आएको र यसलाई खरिदको साधन बनाउन नहुने बताए।यस्तै कार्यक्रममा बोल्दै  चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. जगदीश अग्रवालले जनताले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्दै आएकोमा भोलिका दिनमा यसलाई अझ विस्तार गर्दै लाने र यसै वर्षदेखि बिडियसको पढाइ समेत सञ्चालन गर्ने तयारी रहेको बताए । उनले भने, ‘जनताले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्दै आएकोमा भोलिका दिनमा यसलाई अझ विस्तार गर्दै लाने हाम्रो लक्ष्य रहेको छ त्यसैले यसै वर्षदेखि बिडिएसको पढाइ समेत सञ्चालन गर्ने तयारी हामी गरिरहेका छौं।’ कलेजो प्रत्यारोपण यसै वर्षबाट अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै यसै आर्थिक वर्षदेखि कलेजोको प्रत्यारोपण समेत गर्ने तयारी गरेको अस्पतालका निर्देशक डा. दीपक प्रकाश महराले बताए।

   कलेजो प्रत्यारोपणको लागि आवश्यक पूर्वाधारको र आर्थिक सहयोग सरकारले उपलब्ध गराइसकेको हुँदा निकट भविष्यमा नै प्रत्यारोपण सेवा सञ्चालन हुने उनको भनाइ  थियो।  ‘हामीले हाम्रो सेवालाई विस्तार गर्ने उद्देश्यले निकट भविष्यमा नै कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्दैछौं । जसका लागि नेपाल सरकारले केही प्रविधिक र आर्थिक सहयोग समेत गरिसकेको छ। अब हामी चाँडै नै सो सेवा  सञ्चालन गर्दै छौं’ उनले भने। जापान सरकारद्दारा   ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग  अस्पताललाई जापान सरकारले करिब ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने लागेको निर्देशक डा. दीपक महराले जानकारी दिए। अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने समेत उनले बताए। ‘जापानले दुई वर्षअघिको भूकम्पका समयमा अस्पताललाई उपकरण खरिदमा रकम सहयोग गर्ने वचन दिएको थियो। तर, अस्पतालले रकमको सट्टा उपकरण नै दिन आग्रह गरेपछि उपकरण दिन जापान राजी भएपछि अब सो उपकरण आउन लागेको हो।’ एमआरआई मेसिन, स्तन क्यान्सर जाँच गर्ने मेमोग्राम मेसिन, अल्ट्रासाउण्ड लगायत अन्य शल्यक्रियाको  कक्षमा प्रयोग हुने उपकरण आउने लागेको समेत निर्देशक डा.महराले अवसरमा बताए।

३४ वर्ष अगाडि ३ सय शय्याबाट सेवा दिँदै सुरु भएको अस्पताल हाल ७ सय शय्याबाट आफ्नो सेवा दिँदै आएको छ। हाल अस्पतालमा दैनिक ओपिडीमा १६ सयदेखि दुई हजार बिरामी आउने आउने। त्यस्तै, इमर्जेन्सीमा दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेका छन्। त्यसबाहेक शिक्षण अस्पतालमा हाल विशेष किसिमका ११ वटा सघन उपचार कक्ष (आइसियु) का साथै ५६ वटा आइसियु पनि सञ्चालनमा राखेर आफ्नो सेवा दिँदै आएको छ। त्रिवि शिक्षण अस्पताल २०४० सालमा जापान सरकारको सहयोगमा अस्पताल सञ्चालनमा आएको हो। तीन सय एक शैय्याबाट सुरु भएको शिक्षण अस्पताल विस्तार हुँदै अहिले ७ सय शैय्याको भएको छ।

 अस्पतालले आ.व २०७२/०७३ मा ओपिडीमा ३ लाख ९१ हजार २ सय ११ जनाको स्वास्थ्य जाँच गरेको थियो। यसैगरी, ई.एच.एस अर्थात् विस्तारित अस्पताल सेवा अन्तर्गगत ५४ हजार ४ सय ४९ जना र इमर्जेन्सीबाट ५१ हजार ३ सय २४ जनाले सेवा लिएका छन्। अस्पतालले आ.व. २०७२ र ०७३ मा आन्तरिक स्रोतबाट ७३ करोड ९० लाख ६४ हजार आम्दानी गरेको छ। साथै त्रिभुवन विश्वबिध्यालयबाट १४ कराड २३ लाख २८ हजार, नेपाल सरकारको तर्फबाट उपकरण खरिदका लागि ८ करोड ८५ लाख र सुरेश वाग्ने क्यान्सर स्मृति केन्द्र भवनको लागि ८ करोड गरी जम्मा एक अर्ब ४ करोड ९८ लाख ९२ हजार रहेको थियो।  आव २०७३ र ०७४ को जेठ मसान्तसम्म आम्दानीतर्फ आन्तरिक स्रोतबाट ८० करोड ९४ लाख ८ हजार रहेको छ।

प्रकाशित मिती २०७४ साल श्रावण १ गते आईतबार 

 

प्रतिक्रिया दिनुहोस्