Logo

चीन भ्रमणबाट प्राज्ञ टोली नेपाल फिर्ता

स्तावेज,असार २६, सोमबार २०७४ काठमाडौँः चिनियाँ लेखक संघको निमन्त्रणामा चीनको कुनमिन, छेन्दु र बेइजिङमा आयोजना भएका विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिनिधिमण्डल शनिबार स्वदेश फर्किएको छ। प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको नेतृत्वमा प्राज्ञहरू प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. उषा ठाकुर, प्रा.डा. ज्ञानु पाण्डे, मातृका पोखरेल, विवश पोखरेल र प्रतिष्ठानको प्रशासनतर्फकी उपप्रमुख शशि चालिसे भ्रमण दलमा सहभागी थिए। सात सदस्यीय प्रतिनिधिमण्डल असार १८ गते चीन प्रस्थान गरेको थियो।

 प्रज्ञा प्रतिष्ठानको प्रतिनिधिमण्डलको स्वागतमा पहिलो दिन चिनियाँ लेखक संघको युनान प्रान्तले कुनमिनमा एक कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा चिनियाँ लेखक संघ युनानका प्रतिनिधि फान लिङले स्वागत गर्दै नेपाल र चीनका बीचमा साहित्य रचना गर्ने विषयहरू समान रहेको धारणा राखेका थिए। उनले नेपालका साहित्यकारले जस्तै चिनियाँ साहित्यकारहरूले पनि पहाडी जनताका कथा लेखिरहेको बताएका थिए। नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. घिमिरेले नेपाल र चीनबीचको सम्बन्ध धर्ती जत्तिकै पुरानो रहेको धारणा व्यक्त गरेका थिए। भ्रमण दलका अन्य सदस्यहरूले पनि नेपाली साहित्यका विविध पक्षबारे चर्चा गरेका थिए। चिनियाँ लेखक संघ युनान प्रान्तका पदाधिकारीले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

     कार्यक्रममा चीन र नेपालका समकालीन साहित्यको वर्तमान अवस्था बारेमा चर्चा भएको थियो। असार २० गते चिनियाँ लेखक संघ, बेइजिङ शाखाले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा चिनियाँ लेखक संघका अध्यक्ष छाङ ताओले नेपाल प्रज्ञाप्रतिष्ठान र चिनियाँ लेखक संघबीच भएको साहित्यिक सद्भाव आदान प्रदान सम्झौता अनुसार दुई देशबीच भएका विगतका सम्बन्धहरूको स्मरण गर्दै भविष्यमा यसले अझै गति लिने विश्वास व्यक्त गरेका थिए। सोही कार्यक्रममा लुसुन साहित्य प्रतिष्ठानका अध्यक्ष क्यु हुवादोङले चिनियाँ सरकारले चीनका अल्पसंख्यक जातिको भाषा र साहित्यलाई अत्यन्तै महत्त्व दिएको जानकारी गराएका थिए। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. घिमिरेले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धका बारेमा चर्चा गरेका थिए। यसैगरी चिनियाँ लेखक संघको सिन्चुवान शाखाले सिन्चुवानको राजधानी छेन्दुमा स्वागत एवं साहित्यिक कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा चिनियाँ लेखक संघ, सिन्चुवानका उपाध्यक्ष गोङ छेउले सिन्चुवानका लेखकहरूको ऐतिहासिक योगदान र त्यहाँको लेखक संघको साङ्गठनिक अवस्थाका बारेमा जानकारी गराएका थिए।  उनले सिन्चुवानमा  लेखक संघले इन्टरनेट साहित्यमा विशेष महत्त्व दिएको जानकारी गराएका थिए। नेपाली प्रतिनिधिमण्डलका नेता एवं प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले चीन यात्रा अत्यन्त उपलब्धिमूलक भएको बताए।

प्रतिक्रिया दिनुहोस्