Logo

छोरीले दिइन् बाबुलाई कलेजो, कलेजो प्रत्यारोपणमा दोस्रो सफलता,३० जनाको टोलीले गर्यो ११ घण्टा लामो शल्यक्रिया

स्तावेज ,असार २६,सोमबार,२०७४ काठमाडौं- भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा दोस्रो सफल कलेजो प्रत्यारोपण भएको छ। ६ महिनाअघि नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण गरेको केन्द्रले एक साताअघि दोस्रो पटक सफल प्रत्यारोपण गरेको हो।

केन्द्रले ५७ वर्षीय हिराकाजी महर्जनमा सफल कलेजो प्रत्यारोपण गरेको हो। शल्यक्रियाका लागि ११ घण्टा समय लागेको केन्द्रले जनाएको छ। काठमाडौं लगन निवासी महर्जनलाई उनकै छोरीले कलेजो दान गरेकी हुन्। केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठका अनुसार डाक्टर तथा नर्ससहित ३० जनाको टोलीले उनको शल्यक्रिया गरेको थियो। 

भारतको नयाँ दिल्लीस्थित म्याक्स हेल्थकेयरका प्रमुख कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सुभास गुप्ताको सहयोगमा प्रत्यारोपण सम्पन्न गरिएको श्रेष्ठले जानकारी दिए। टोलीमा भारतबाट कम्तीमा १० जना प्राविधीकहरुको टोली संलग्न थिए भने केन्द्रबाट डा. सुबोध अधिकारी, डा. क्षेतेन योञ्जन तामाङ्ग, डा. प्रबिन जोशी, डा. आरती राई, डा. किरण अधिकारी, डा. महालक्ष्मी देउजा, डा. दिपेश गुरुवाचार्य, डा. निरज जोशी, डा. सुभास आचार्य, ईन्दिरा प्रधान, मेरीना राणा, अनिता कार्की, सृष्टि साह, शर्मिला कोजु लगायतको प्रत्यारोपणको टीम संलग्न रहेका थिए। नेपाली टोलीको नेतृत्व डा. श्रेष्ठले गरेका थिए।

डा. क्षेतेन योञ्जनका अनुसार कलेजो फेल भएका बिरामीको बिग्रिएको कलेजोलाई शल्यक्रियाको माध्यमबाट निकालेर त्यस ठाउँमा अर्को कलेजो राख्ने काम नै कलेजो प्रत्यारोपण हो। बिरामी मानिसमा दुई प्रकारका दाताबाट कलेजो प्रत्यारोपण गरिन्छ। एउटा मस्तिष्क मृत्यु भएकाहरुको शरीरबाट पूरै कलेजो निकालेर बिरामीमा राख्ने र अर्को जीवित मानिसको कलेजोको केही अंश काटेर बिरामीमा राख्ने। मस्तिष्क मृत्यु भएकाहरुकोबाट निश्चित समयभित्र निकालेको पूरै कलेजो बिरामीको शरीरभित्र राख्ने सेवा विस्तारै सुरु हुँदैछ। नेपालमा मस्तिष्क मृत्युको कानुन आइसकेकाले यो सेवा पनि उपलब्ध हुनेछ।

अर्को भनेको स्वस्थ व्यक्तिको शरीरबाट कलेजोको टुक्रा काटेर बिरामीमा राख्ने गरिन्छ। कलेजो भनेको नङ र कपाल जस्तै बढ्दै जाने अंग हो। एउटा स्वस्थ मानिसको शरीरमा कलेजोको ३० प्रतिशत भाग मात्र छ भने पनि त्यसले पूर्ण रुपमा काम गर्छ। त्यसकारण चिकित्सकले स्वस्थ मानिसको शरीरबाट कलेजोको ३० प्रतिशतभन्दा बढी भाग काटेर बिरामीमा प्रत्यारोपण गर्ने गर्छन्। यसरी काटिएको कलेजो ५ देखि ७ दिनमा पूर्ण रुपमा काम गर्ने अवस्थामा आउँछ भने आकार पनि तीन महिनाभित्रमा पहिलाको जत्रै हुन्छ। कलेजोको आकारभन्दा पनि कार्य महत्वपूर्ण हुन्छ।

६ महिनापछि दोस्रो प्रत्यारोपण सफल भएको खुसी व्यक्त गर्दै निर्देशक डा. श्रेष्ठले प्रत्यारोपण सेवालाई निरन्तरता दिने जानकारी दिए। उनले केन्द्रमा महिनामा कम्तीमा एउटा प्रत्यारोपण गर्ने बताए। केन्द्रमा पहिलो पटक गत ७ डिसेम्बर २०१६ मा र दोस्रो पटक एक साताअघि २ जुनमा कलेजो प्रत्यारोपण भएको हो। 

चिकित्सकहरुका अनुसार नेपालमा हरेक बर्ष करीब एक हजार जनाभन्दा बढीको कलेजो फेल हुने गरेको अनुमान गरिएको छ। शुरुवाती चरणमा नेपालमा करीब २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण गर्ने बताइएको छ भने भारत तथा अन्य बिकसित देशहरुमा कलेजो प्रत्यारोपण गर्दा करीब १ करोड देखि डेढ करोडसम्म खर्च लाग्ने गरेको छ । 

गत बर्ष मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ मन्त्रीपरिषदबाट पास भए पश्चात नेपालमा कलेजो प्रत्यारोपण गर्न बाटो खुलेको हो । यो भन्दाको पहिलेको नियमावलीमा प्रत्यारोपण सम्बन्धी नीति तथा नियमको दायरा साँघुरो थियो।

 श्रोत : स्वास्थ्य खवर पत्रिका

प्रतिक्रिया दिनुहोस्