Logo

त्रिवि शिक्षण अस्पतालका चिकित्सकले महिलाको पेटबाट निकाले ३५ किलोको ट्युमर

सार २४ शुक्रबार २०७४ काठमाडौं त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोली एक महिलाको पेटबाट ३५ किलोको ट्युमर निकाली उपचार गर्न सफल भएको छ । रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको पेटको बडेमानको ट्युमर शल्यक्रिया गरी चिकित्सकहरूले निकालेका हुन् ।

                           ट्युमर निकालिएकी दिलमाया र उनका श्रीमान्सँग चिकित्सकको समूह

दुई साता अघि ट्युमर निकालेपछि दिलमायाँ स्वस्थ्य र तन्दुरुस्त हुँदै आएकाले उपचारमा संलग्न चिकित्सकको समूहले शल्यक्रिया बारे जानकारी दिएको हो । चिकित्सकहरूका अनुुसार कुनै जीवित महिलाको पेटबाट निकालिएको सम्भवतः संसारकै सबैभन्दा ठूलो ट्युमर हो ।

ट्युमरले थलिएकी दिलमायाँ असार २ गते शिक्षण अस्पताल महाराजगन्जको ओपिडीमा स्वास्थ्य परीक्षण गराउन आएको अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. आश्मा राणाले बताइन् । उनको परीक्षण गरेको छैटौं दिनमा शल्यक्रियाको तयारी गरिएको थियो । सिटी स्क्यान गर्दा पाठेघरको दायाँपट्टि ट्युमर पलाएर बढेको देखिएपछि शल्यक्रिया गरी झिक्नुपर्ने  निष्कर्षमा चिकित्सक टोली पुगेको अस्पतालका जिआई सर्जन डा. विकल्प घिमिरेले बताए ।

करिब ६ वर्षअघि आफूलाई पेटमा समस्या अनुभव भएपछि उपचारका लागि धेरै वटा अस्पताल धाएको दिलमायाँले बताइन् । उनले भनिन्, ‘ग्यास्ट्रिक भएको भन्दै डाक्टरले औषधि दिनुभयो, तर निको भएन ।’ सुरु सुरुमा ट्युमर बिस्तारै बढे पनि एक वर्षयता तीव्र गतिमा बढेको उनले बताइन् ।

ट्युमर ठूलो हुँदै गएपछि आफू थलिँदै गएको र अस्पताल आउनु केही दिन अघिसम्म पानीको लोटा समेत उठाउन नसक्ने अवस्थामा पुगेको दुखेसो उनले पोखिन् । शल्यक्रियापछि ट्युमर पलाउनु अघिकै अवस्थामा फर्केकी दिलमायाँ उपचारबाट आफूले दोस्रो जुनी पाएको बताउँछिन् । उपचारमा संलग्न चिकित्सक टोलीप्रति कृतज्ञता व्यक्त गर्दै उनले भनिन्, ‘मलाई फेरि स्वस्थ्य हुन्छु भन्ने आशा मरिसकेको थियो । डाक्टरहरूले निको पारिदिनुभयो । म अहिले दोस्रो जुनी बाँचिरहेको अनुभव गरिरहेकी छु ।’

ठूलो ट्युमर भएकाले स्वभावतः शल्यक्रिया जटिल हुने भए पनि शिक्षण अस्पतालका चिकित्सक टोलीले कुशलतापूर्वक ट्युमर झिकेर सफल उपचार गरेका छन् । सर्जरीमा डा घिमिरेले नेतृत्व गरेका थिए भने रेडियोलोजीमा डा. बेन लोहनी र डा. अनामिका झा, एनेस्थेसियामा डा. अनिल श्रेष्ठ र डा. अमित भट्टराई, डा. पावेल भट्ट, डा. श्रीषराज जोशी, दीपक सुवेदी र सीमान्त दाहाल थिए ।

नर्सिङको जिम्मेवारी शोभा अधिकारी र सुजिना श्रेष्ठले वहन गरेका थिए भने शल्यक्रियापछि आवश्यक प्लास्टिक सर्जरी डा. कृष्ण मानन्धर र डा. समित शर्माले गरेका थिए । प्रसूति तथा स्त्री रोगतर्फका डा. आश्मा राणा, डा. सुभाना मास्के, डा. गीता गुरुङ, डा. पूजा पौडेल, डा. अमृत पोखरेल, डा. कृतिका थापा, डा. शिल्पी कारक, डा. आस्था रेग्मी, डा. अमृता सिन्हा, डा. इमान, डा. नारायण वस्ती र डा मिलन अवाले शल्यक्रियामा संलग्न थिए ।

श्रोत,स्वास्थ्य खवर पत्रिका

प्रतिक्रिया दिनुहोस्