Logo

म्याद नाघेका खाध्य पदार्थ जफत

सार १६, २०७४- बजार क्षेत्रका किराना पसलले म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्रीवितरण गरेको गुनासो बढेपछि सिरहा प्रशासनले बजार अनुगमन थालेको छ । इलाका प्रशासन लहानका प्रमुख सोमप्रसाद भट्टराई, घरेलु कार्यालयका निरीक्षण अधिकृत राजेन्द्रलाल कर्णसहित प्रहरी, उध्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, सञ्चारकर्मी सम्मिलित नेतृत्व टोलीले लहान बजारमा अनुगमन सुरु गरेको हो । 

  अनुगमनका क्रममा ६ किराना पसलबाट म्याद गुज्रिएको पिठो, खाने तेल, अखाध्य वस्तु, सुर्तीजन्य पदार्थ जफत गरिएको छ । निरीक्षण अधिकृत राजेन्द्रलाल कर्णका अनुसार अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाध्य वस्तु बिक्रीवितरणमा संलग्न १४ पसललाई सचेत गराइएको छ । लहानका होटेलहरूले समेत कच्चा सामग्रीमा मिसावट गरी बिक्रीवितरण गर्दै आएको भेटिएको छ । लहान बजार क्षेत्रका बिक्रेताले विभिन्न किसिमका मालसामानलाई आकर्षक तथा स्वादिष्ट बनाउन खाध्य पदार्थमा मिसावट गर्दा उपभोक्ता हैरान भएका छन् ।

   सिरहाका बजारमा यो समयमा व्यापारीहरूले खाध्य पदार्थमा अखाद्य वस्तुको मिश्रण गर्ने, मिति नाघेका उपभोग्य वस्तुको बिक्री वितरण गर्ने, मिठाई तथा भोजनमा कपडामा लगाउने रङ प्रयोग गर्ने, चामलको तौल बढाउन माटाका कनिकाको मिश्रण गर्ने गरेको उपभोक्ताको गुनासो छ । ‘बजार, होटल हरेक स्थानमा मिसावट नगरिएको सामानै पाइँदैन, अझ त्यसमा पनि म्याद सकिएको सामग्री पसलेले बिक्री गरिराखेका हुन्छन्,’ राष्ट्रिय उपभोक्ता मञ्च नेपाल सिरहाका अध्यक्ष रामानन्द गुप्ताले भने, ‘पसलेले कम लागतमा मिसावटयुक्त पदार्थको प्रयोग गरी बढी मुनाफा आर्जन गर्न खोज्दा उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएको छ ।’बजार अनुगमनमा सरकारी उदासीनताका कारणा बजारमा मिसावटयुक्त खाध्य पदार्थको बिक्री वितरण हात्तै बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्