Logo

प्रसूति गृहको सेवा सहज बनाउन सौर्य प्रणाली

काठमाडौँ असार ११ २०७४  – बिजुलीको वैकल्पिक व्यवस्था गरेर अस्पतालले दिने सेवालाई अझ प्रभावकारी बनाउन थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सौर्य प्रणाली जडान गर्ने भएको छ। देशकै सबैभन्दा धेरै शिशुले जन्म लिने अस्पताल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले रु २५ लाखको लागतमा सोलार जडान गर्ने भएको हो। 

अस्पतालमा हरेक दिन ६० भन्दा बढी सुत्केरी हुन्छन् । तीमध्ये कतिपयको शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ । अन्य स्त्री रोगको उपचार गर्दा शल्यक्रियासमेत गर्नुपर्ने भएकाले वैकल्पिक बिजुलीका लागि १५ किलोवाटको सौर्य प्रणाली जडान गर्न लागिएको अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले जानकारी दिए। 

‘कहिलेकाहीँ भोल्टेज कम हुँदा समस्या हुन्छ, सौर्य प्रणाली भएपछि शल्यक्रियाका सामान निर्मलीकरण गर्न तथा शल्यकक्ष र अन्य अत्यावश्यक ठाउँमा बत्तीको व्यवस्था हुन्छ’ उनले भने।सौर्य प्रणाली जडानका लागि सबै काम पूरा भइसकेको छ । यो महिनाको अन्तिममा सबै काम सकिएर सञ्चालनमा आउने अस्पतालले जनाएको छ। 

अस्पतालले हरेक महिना बिजुलीका लागि करिब रु छ लाख विद्युत् प्राधिकरणलाई बुझाउँदै आएको छ । यो रकम जाडो महिनामा रु ११ लाखभन्दा बढी हुने वरिष्ठ लेखा अधिकृत गुरुङले बताए।

   रासस 

प्रतिक्रिया दिनुहोस्