जब्बर ब्याक्टेरियालाई तह लगाउने हजार गुणा शक्तिशाली एन्टिबायोटिक्स
![](https://karobaraja.com/wp-content/uploads/2017/06/970823400how-bacteria-work-orig.jpeg)
अमेरिकी वैज्ञानिकहरूले सामान्य एन्टिबायोटिक्सले काम नगर्ने ब्याक्टेरिया तह लगाउन शक्तिशाली नयाँ औषधि विकास गरेका छन्।केही वर्षयता विश्वभर नै त्यस्ता ब्याक्टेरियाको प्रकोप बढेको छ, जसमा सामान्य एन्टिबायोटिक्सको प्रभाव पर्दैन वा भनौँ ती ब्याक्टेरियाले सामान्य एन्टिबायोटिक्स औषधि सजिलै पचाइदिन्छन्। यस्ता ब्याक्टेरिया अहिले विश्वभर स्वास्थ्यसम्बन्धी ठूलो खतराका रुपमा देखिएका छन्।
गत फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले यस्ता ब्याक्टेरियाको सूची नै जारी गरेको थियो, जसले सजिलै औषधि पचाइरहेका थिए।अमेरिकी वैज्ञानिकहरूले यस्ता जब्बर ब्याक्टेरियालाई तह लगाउने औषधि विकास गरेको दाबी गरेका छन्। उनीहरूले अहिले बजारमा पाइने औषधि ‘भंकोमाइसिन’मा नै चमत्कारी परिवर्तन गरी शक्तिशाली ब्याक्टेरियालाई नियन्त्रण गर्न सक्ने बनाएको बताएका छन्।
यो एन्टिबायोटिक्स ‘इन्टरकोक्की’जस्ता सामान्य ब्याक्टेरिया नियन्त्रण गर्न प्रयोग गरिन्छ। भंकोमाइसिन ब्याक्टेरिया नियन्त्रण गर्न उपयोग गरिने प्रारम्भिक एन्टिबायोटिक्स हो, यस्ता एन्टिबायोटिक्सलाई ‘फस्र्ट लाइन ट्रिटमेन्ट एन्टिबायोटिक्स’ पनि भनिन्छ। तर, पछिल्लो सयम यसले इन्टरकोक्कीजस्ता ब्याक्टेरियामाथि पनि असर गर्न सकिरहेको थिएन। इन्टरकोक्की ब्याक्टेरियाले मुत्र नलीमा संक्रमण गर्छ र यसकै कारण घाउमा हुने संक्रमण निको हुँदैन ।
ब्याक्टेरियाबाट हुने अनेकौँ संक्रमणको उपचार गर्न भंकोमाइसिनको उपयोग गरिन्छ। जस्तै छालामा हुने संक्रमण, रगतमा हुने संक्रमण, हाडजोर्नीमा हुने संक्रमण र मेनेन्जाइटिसलगायत संक्रमणमा भंकोमाइसिन प्रयोग गरिन्छ।
हजार गुणा शक्तिशाली
अमेरिकी वैज्ञानिकहरूले गरेको दाबी अनुसार अहिले उपलब्ध भंकोमाइसिनलाई एक हजार गुणा शक्तिशाली बनाइएको छ। सुधारिएको भंकोमाइसिनले तीन तरिकाबाट ब्याक्टेरियामाथि असर गर्छ।
भंकोमाइसिनलाई शक्तिशाली र प्रभावकारी बनाएको दाबी ‘द स्क्रिप्स रिसर्च इन्स्टिच्युट’का वैज्ञानिकहरूले गरेका हुन्। उनीहरूको अनुसन्धान ‘प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्स’मा विस्तृत रुपमा प्रकाशित छ।
यस्ता एन्टिबायोटिक्स प्रतिरोधी ब्याक्टेरियाको संक्रमणबाट अमेरिका र युरोपमा बर्सेनि ५० हजार मानिसको मृत्यु हुने गरेको छ। भारतमा एन्टिबायोटिक्स र यसको प्रयोगबारे अनुगमन गर्ने ‘प्रोजेक्ट रेसिस्टेन्स म्याप’ (पिआरएम) का अनुसार त्यहाँ एन्टिबायोटिक्स प्रतिरोधी ब्याक्टेरियाको संक्रमणको जोखिम अत्यन्त उच्च छ।
पिआरएमका अनुसार ९५ प्रतिशत भारतीय वयस्कको शरीरमा एन्टिबायोटिक्सले असर नगर्ने वा प्रतिरोधी ब्याक्टेरिया रहेको अनुमान छ।
नोट: नेपालका सन्दर्भमा भने एन्टि बायोटिक्सको प्रयोगबारे अनुगमन गर्ने कुनै निकाय छैन। तर, चिकित्सकहरुले कति कडा एन्टिबायोटिक्स रेफर गर्न पाउने सामान्य मापदण्ड भने स्वास्थ्य मन्त्रालयले बनाएको छ। त्यसबाहेक नेपालमा एन्टिबायोटिक्स प्रतिरोधी ब्याक्टेरियाबारे कुनै अध्ययन नभएका कारण यसको स्थिति कस्तो छ, थाहा पाउने कुनै माध्यम छैन।
श्रोत स्वास्थ्य खवर