Logo

चिनियाँ सांस्कृतिक प्रदर्शनी सुरु

सार ९, २०७४- कक्षा १० मा पढ्ने शर्मिला गुरुङ र कविता घिसिङ बिहीबार लैनचौर ब्यांकेटमा भेटिए । चिनियाँ सांस्कृतिक प्रर्दशनीमा स्कुल ड्रेसमै आएका उनीहरूका हातमा माटोको फूल र कागजको पुतली थियो , दुवै दंग देखिन्थे ।

‘यो त हामी पनि बनाउन सक्दा रहेछौं,’ शर्मिला बोलिन्, ‘कस्तो सजिलो रहेछ । यहाँ आएपछि बल्ल थाहा भयो ।’

राजधानीका विभिन्न स्कुल र शैक्षिक संस्थाका विद्यार्थी, कूटनीतिक व्यक्तित्व लगायतले बिहीबार मेला अवलोकन गरे । चिनियाँ सांस्कृतिक केन्द्र, नेपालले आयोजना गरेको एकहप्ते मेलाको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बिध्यासुन्दर शाक्य र नेपालका लागि चिनियाँ राजदूत यु होङले गरे । ‘तियान्जिन इन्टेन्जिबल कल्चरल हेरिटेज एक्जिबिसन’ नाम दिइएको प्रदर्शनीमा १० चिनियाँ शिल्पकार सहभागी छन् ।

काठका मूर्ति, चिनियाँ माटोका आकृति, अन्डाको बोक्राबाट निर्मित सो–पिस, कागजका पुतली, धागोको मालाजस्ता हस्तकला सामग्री प्रदर्शनीमा राखिएका छन् । कालिगडहरू अवलोकनकर्तालाई ती सामान बनाउन सिकाइरहेका थिए । ‘कोसिस गर्नुहोस् त, निकै सजिलो छ,’ क्ले आर्टिस्ट सङ साओमी भन्दै थिइन्, ‘हामी माटोबाट ससाना स्क्लप्चरहरू बनाउँछौं । तियान्जिनको लोक कला हो यो ।’ उनी क्ले फिगरिन झाङ कलाबारे अवलोकनकर्तालाई बुझाइरहेकी थिइन् ।

मेलाको प्रमुख आकर्षणचाहिँ ‘विफाङ चंगा’ हो । कार्याशाला नै आयोजना गरेर यो विश्व प्रसिद्ध चंगा बनाउने तौरतरिका सिकाइँदै छ । ‘विफाङलाई चंगाको गृहनगर भनेर चिनिन्छ,’ नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा. हरिश्चन्द्र साहले भने, ‘विश्वका ७० प्रतिशत चंगा विफाङमै बनेका हुन्छन् ।’ चंगाको आविष्कार चीनमा भएको थियो भने ‘विफाङ–काइट’ अझै पनि औधि लोकप्रिय छ ।

समारोहमा मेयर शाक्यले चिनियाँहरूको शिल्प कौशलको तारिफ गर्दै उनीहरूबाट सिक्न सकिने बताए । तियान्जिन र विफाङबासीले जस्तै हामीले पनि आफ्नो लोक कला बचाइराख्नुपर्ने उनको भनाइ थियो । ‘अमूर्त कलाहरू हाम्रा सम्पदा हुन्,’ उनले भने, ‘सम्पदा संरक्षणमा हामी सचेत हुनुपर्छ ।’ राजदूत होङले भने चीनमा जुन महिनाको दोस्रो शनिबार ‘सांस्कृतिक, प्राकृतिक दिवस’ मनाइने गरेको अवगत गराइन् । प्रदर्शनीमा समावेश हस्तकलाहरू युनेस्कोको विश्व अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत छन् ।

श्रोत, कान्तिपुर

 

प्रतिक्रिया दिनुहोस्