Logo

नारायणगढ/मुग्लिन सडकखण्डमा ठूलो पहिरो, पहिरोसँगै प्रहरी भ्यान र ट्रक त्रिशुलीमा खस्यो

स्तावेज संवाददाता,असार ९, २०७४,चितवन –  चितवनको मुग्लिन/नारायणगढ सडकखण्ड अन्तर्गत  इच्छा कामना गाउँपालिका–६ स्थित कालिखोलामा गएराति एउटा ट्रक र प्रहरीको भ्यान सुख्खा पहिरोसँगै त्रिशुली नदीमा खसेको छ। राति करिब १ बजे कालिखोलामा खसेको पहिरोले बगाएर प्रहरीको भ्यान र ट्रक त्रिशुलीमा पुर्‍याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिएका छन् ।

 थापाका अनुसार इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी सहायक निरीक्षक निश्चल तामाङ सहित प्रहरी जवान दिपक मास्के, सन्दीप कार्की र लिलाबहादुर चेपाङ सम्पर्कविहीन छन्। अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाट भट्ट, प्रहरी प्रमुख थापा सहितको उद्धार टोली खटिएको छ। घटनास्थलबाट प्राप्त जानकारी अनुसार शुक्रबार बिहान २ जनाको शव देखिएको छ। पहिरो निरन्तर खसिरहेकाले माथिबाट देखिएको शव प्रहरीको होकि होइन भन्ने पनि खुल्न सकेको छैन।

      नेपाली सेना, जनपद प्रहरी र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद उद्धार टोलीसमेत घटनास्थलमा पुगेर उद्धार थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठूलो पहिरो खसेकाले बाटो अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन कठिनाइ भैरहेको प्रमुख जिल्ला अघिकारी नारायणप्रसाट भट्टले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्