Logo

आन्दोलनमा होमिएका दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) माथि अन्धाधुन्ध दमन

सार १ गते २०७४ ,दार्जिलिङ –  छुट्टै राज्य गोर्खाल्यान्डको आन्दोलनलाई निष्क्रिय बनाउन प्रहरी प्रशासनले आन्दोलनमा होमिएका दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) माथि अन्धाधुन्ध दमन गरेपछि मोर्चाले दार्जिलिङमा अनिश्चितकालीन बन्द आह्वान गरेको छ।बिहीबारदेखि दार्जिलिङका अधिकांश ईलाकाहरु बन्द रहेका छन् । बिहीबार बिहान यहाँस्थित दलीय कार्यालयमा प्रहरीले छापा मारेपछि मोर्चाले दार्जिलिङमा अनिश्चितकालीन बन्द आह्वान गरेको हो । प्रहरीले आन्दोलनकारीहरूलाई पक्राउ गर्न छापा मार्ने अभियानलाई तीव्र पारेपछि अहिले यहाँको स्थिति निकै तनावपूर्ण बनेको छ। 

   मोर्चाको दलीय कार्यालयबाट प्रहरीले धनुकाँड, फरूवा र केही पटका जफत गरेको छ, जसलाई प्रहरीले हातहतियारको संज्ञा दिएको छ । भेटिएका धनुकाँडहरू बीएचएमआईका नानीहरूलाई आर्चरी सिकाउन ल्याइएको र प्लास्टिकका धनुकाँडलाई प्रहरीले हातहतियार बताएर तिव्र अनुसन्धान गर्ने कार्य गरिरहेको आन्दोलनरत मोर्चा सहसचिव विनय तामाङले बताएका छन् । दार्जिलिङ सामान्य रहेकै बेला प्रशासनको दमन नीति अत्यधिक बढेपछि  अनिश्चितकालीन बन्द गर्न आफूहरू बाध्य बनेको मोर्चाको भनाइ छ। बन्दको घोषणा लगत्तै दार्जिलिङ, खरसाङ कालेबुङ र मिरिक तथा यससित संलग्न क्षेत्र अनिश्चित कालको लागि ठप्प रहेका छन् । 

     दल प्रमुख विमल गुरूङलाई अभियोग लगाएको भन्दै कालेबुङमा मोर्चा कार्यकर्ताहरूले बाक्लो संख्यामा भेला भएर विरोध प्रदर्शन गरेका छन् । यहाँको पातले बाँसमा प्रशासनले घेराबन्दी गरेको छ। पातले बाँस मोर्चाको हेड क्वार्टर हो । आजै हुने भनिएको युवा मोर्चाको पूर्व निर्धारित ऱ्यालीमा सामेल हुन आएका युवा कार्यकर्ताहरूलाई प्रहरीले ठाउँठाउँमा रोकेर राखेको छ  भने आज बिहानै घरबाट मोर्चा नेतृ करूणा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। गुरुङ मोर्चाको श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयु) खरसाङ महकुमा समितिकी अध्यक्ष हुन्। 

प्रतिक्रिया दिनुहोस्