Logo

लन्डनको २४ तले भवनमा भीषण आगलागी

जेष्ठ ३१, २०७४- पश्चिम लन्डनको नटिङहिल नजिक अवस्थित एक २४ तले आवासीय भवनमा बुधबार बिहान भीषण आगलागी भएको छ ।  ल्याटिमेर रोडमा अवस्थित १२० फल्याट रहेको ६८ मिटर अग्लो ग्रेनफेल टावर (अपार्टमेन्ट)मा राति करिब एक बजेतिर लागेको आगलागीबाट कयौं हताहत भएको अनुमान छ  । लन्डन फायर कमिश्नर डेनी कोटोनले अकस्मात लागेको आगलागीले हताहती धेरै हुन सक्ने बताउँदै अहिले नै संख्या यकिन नभएको बताइन् । ‘मैले अग्नि नियन्त्रणको काम थालेको २९ वर्षमा यस्तो भीषण आगलागी कहिल्यै देखेको थिइनँ’, कोटोनले भनिन्, ‘आगोले २४ तला पुरै जलेको छ ।’ बिहान गरिएको पत्रकार सम्मेलनमा उनले भवनभित्र अझै मानिसहरु फसिरहेका छन् कि भन्नेबारे खोजी भइरहेको र स्थिति पूर्ववत् अवस्थामा ल्याउन काम भइरहेको बताइन् । 

लन्डन एम्बुलेन्स सर्भिसले घाइते ५० को लन्डनका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ । सुतिरहेका बेला उक्त टावर ब्लकमा आगो लागेपछि मानिसहरु बचाउ बचाउ…भन्दै चिच्याइरहेका थिए । केन्जिङटन एण्ड चेल्सी काउन्सिलका लिडर निक प्याजेट ब्राउनले सयौं मानिस भवनभित्र हुन सक्ने बताउँदै यकिन संख्याबारे जाँचबुझ भइरहेको बताए । दि टेलिग्राफले भवनभित्र ६ सय बढिरहेको हुन सक्ने उल्लेख गर्दै कति भाग्न सफल भए थाहा नभएको जनाएको छ ।

    आगलागी भएको स्थान नेपाली दूतावास नजिक छ । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले दु:खद् घटना सुन्नुपरेको जनाउँदै नेपाली हालसम्म प्रभावित भएको खबर नआएको बताए । उनले दूतावास मेट्रो पुलिस र काउन्सिलसँग सम्पर्कमा रहिरहेको समेत जनाए । कम्तीमा ४५ दमकलमा आएका दुई सयभन्दा बढी अग्नी नियन्त्रकलाई रातभर आगो नियन्त्रणमा लिन हम्मेहम्मे पर्‍यो । स्थानीय समयानुसार बिहान १० बजेसम्म पनि भवनमा आगो बलिरहेको देखिएको छ । अधिकारीहरुले आगो कसरी लाग्यो थाहा नभएको बताएका छन् । लन्डन मेयर सादिक खानले घटना दु:खद् र विक्षिप्त खालको भएको जनाउँदै घटनापछि एकसय भन्दा बढी प्रहरी, एक सय मेडिक्स र २५० अग्नी नियन्त्रक खटिएको जनाए । 

    ग्रेनफेल एक्सन ग्रुपले चार वर्षयता भवनमा विपत्ति आउन सक्नेबारे सम्बन्धित निकायलाई अवगत गराइए पनि बेवास्ता गरिएको दाबी गरेको छ । ग्रुपले भवनको स्वामित्व लिएको केन्जिङटन एण्ड चेल्सी टिनेन्ट म्यानेजमेन्ट अर्गनाइजेसनलाई अवगत गराएको थियो । गत नोभेम्बरमा पनि भवनको फायर सेफ्टीबारे प्रश्न उठेको थियो । उक्त भवन ढल्ने चिन्ता समेत व्यक्त गरिएको छ । सन् १९७४ मा निर्मित उक्त टावर गतवर्ष मे २०१६ मा मात्र ८ दशमलव ७ मिलियन पाउण्ड खर्चमा मर्मत सम्भार गरिएको समाचारमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्