Logo

जबर्जस्ती करणी गरी छिमेकी बालिकाको हत्या

जेष्ठ २६, २०७४ दमक  झापा,गत बुधबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी दमक २ कि ९ वर्षीया गंगा दाहालको हत्यामा प्रहरीले छिमेकीको संलग्नता रहेको पत्ता लगाएको छ। इलाका प्रहरी कार्यालय दमकले दाहालको हत्यामा संलग्नताको अभियोगमा छिमेकी लक्ष्मीप्रसाद अधिकारीमाथि अनुसन्धान गर्न अदालतबाट म्याद थप समेत गराएको छ। बुधबार साँझ ५ बजेतिर दाहालको घरमा पुगेका अधिकारीले घरमा रहेकी एक युवतीलाई जबरजस्ती करणी गर्न खोज्दा बालिका गंगाले देखेपछि घटना दबाउन उनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी राजन लिम्बुले बताए। गंगाको हत्यामा बञ्चरो प्रयोग भएको प्रहरीले बताएको छ। गंगाको अनुहार, टाउको तथा शरीरका बिभिन्न भागमा चोट लागेको थियो। अधिकारीमाथि थप अनुसन्धान गर्न शुक्रबार नै प्रहरीले जिल्ला अदालत झापाबाट १० दिनको म्याद लिएको छ। अधिकारीलाई कर्तव्य ज्यान मुद्दा र जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।

यसरी भयो हत्या

गंगा दमकस्थित हिमालय माविको कक्षा २ मा अध्ययनरत बिध्यार्थी हुन्। उनी सदाझैं बुधबार पनि ४ बजेपछि बिध्यालयबाट घर फर्किन्। प्रहरीका अनुसार घर फर्किएर खाजा खाएपछि पेट दुख्यो भन्दै गंगा घरको माथिल्लो तलामा सुत्न गइन्। उनका १२ वर्षीय दाजु खाजा खाएर नजिकै थ्रेसरले धान चुटेको ठाउँमा गए। छिमेकी लक्ष्मीप्रसाद अधिकारी उनको घरमा आएर सरासर माथिल्लो तलामा गए। अधिकारी माथिल्लो तलामा गएपछि घरमा रहेकी युवतीले अधिकारीमाथि शंका गर्दै माथिल्लो तलामा हेर्न गइन्। अधिकारी सिधै घरको कोठाभित्र प्रवेश गरे। डिएसपी लिम्बु भन्छन्,‘ कोठामा प्रवेश गर्नसाथ अधिकारीले ती युवतीलाई हातमा तानेर जबरजस्ती गर्न खोजेछन्, युवती चिच्याएपछि अर्को कोठामा सुतिरहेकी गंगा उठेर त्यहाँ गइन् र युवतीको हातमा समातेर तानिन्।’ प्रहरीका अनुसार गंगाले देखेपछि घटना सार्वजनिक हुने डरले अधिकारीले गंगालाई बञ्चरोले हानेका हुन्। डिएसपी लिम्बु भन्छन्,‘ हत्या यति चलाखीपूर्ण तरिकाले गरेको रहेछ, हत्या गर्दा अधिकारीले हातमा प्लाष्टिक राखेछन् र रगत लागेको बञ्चरोलाई कलमा धोएर, किचनमा लगेर राखेछन् र प्लाष्टिक आगोमा हालेछन्, तर सबै प्लाष्टिक डढेन, हामीले त्यो पनि बरामद गर्‍यौं।’ अधिकारीले ती युवतीलाई पनि घटना सार्वजनिक नगर्न धम्की दिए। डिएसपी लिम्बुले भने,‘ हत्या गरेको कसैलाई भनेमा तेरो परिवारनै सिध्याइ दिन्छु भन्दै अधिकारीले भनेछन् र ती युवती घटनाका बारेमा कसैलाई नभनी आफू काममा लागिछन्।’ घटनास्थलभन्दा २० मिटरको दूरीमा स्थानीय वासीहरु धान थ्रेसर लगाइरहेका थिए। मृतक बालिकाको आमा र दिदी बेलुका साढे ५ बजेतिर बजारबाटसंगै घर आइपुगे। दिदीले घरको माथिल्लो तलामा चढ्दा बहिनीको शव देखेपछि चिच्याउँदै वरपर खबर गरिन्। लगत्तै प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। घरमूली हेमकुमार दाहाल लामो समयदेखि घर बाहिर रहेको हुनाले छिमेकी अधिकारी दाहाल परिवारको विश्वासिलो पात्र बनेका थिए। उनले घटना भएको दिन पनि दाहाल परिवार घरमा बस्न नसक्ने अवस्था रहेकाले आफ्नै घरमा लगेर राखेका थिए। डिएसपी लिम्बु भन्छन्, ‘अधिकारी दाहाल परिवारको विश्वाशिलो पात्र रहेछन्, वैशाख ४ गते दाहाल परिवारको एक लाख रुपैयाँ, हराएको रहेछ, त्यो पैसा पनि मृतककी आमा सावित्राले अघिल्लो दिन अभियुक्त अधिकारीलाई नै राख्न दिएकी रहिछन्, भोलिपल्ट सावित्राले त्यो पैसा घरमा लगिन् र घरबाटै हरायो, त्यो केशमा पनि परिवारले अधिकारी माथि नै शंका गरेका छन्।’ अधिकारीलाई गंगाकी दिदीका बयानको आधारमा बिहीबार बिहान पक्राउ गरेको हो। अनुसन्धानका क्रममा पक्राउ परेका अन्य चार जनालाई प्रहरीले छोडिसकेको छ। 

गाउँले त्रसित

आफ्नै घरभित्र बालिकाको बिभत्स हत्याले दमक २ को भालुखुडीका गाउँले त्रसित बनेका छन्। ६ महिनाअघि सोही गाउँ नजिक एक व्यक्तिको बेवारिसे शव फेला परेको थियो। हत्या गरी नालामा फालिएको अवस्थामा शव फेला परेको थियो। उक्त व्यक्तिको हत्या कसले गर्‍यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। बुधबार गाउँकै नाबालिकाको हत्याले त्रसित बनाएको स्थानीय तारा ढुंगानाले बताइन्।

प्रतिक्रिया दिनुहोस्