Logo

नेपाली बन्धक बनाउने भारतीय प्रहरीका डिएसपी सहितको समुह पक्राउ

                                        फाईल फोटो

वन महरा, डोटी १८ जेठ भारतबाट आएर नेपालीलाई अपहरण गर्न खोज्ने भारतीय प्रहरीको एक समुहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । बुधबार राती दिपायल सिलगढी नगरपालीका ८ लडागडा निवासी लाल बहादुर नेपालीको अपहरण गरी भारत तर्फ लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय डोटीले गोप्य स्रोतका आधारमा सिलढीबाट पक्राउ गरेको हो । पक्राउ परेका ५ जना भारतीय प्रहरी भारतमा काम गर्ने क्रममा एक बर्ष पहिला नेपालीले बैंकमा चोरी गरेको आरोपमा पक्राउ गर्न आएको स्रोतले जनाएको छ ।           

           भारतीय प्रहरीका डिएसपी नागराजको कमाण्डमा आएको उक्त प्रहरी टोलीले आउजीलाई मध्यराति उनकै घरमा कुटपिट गर्नुको साथै हात तथा मुखमा पट्टी बाँधी आफूले ल्याएको गाडीमा लैजान खोजेको स्थानीयले बताए । गत बर्ष बैशाख ११ गते हातहतियार सहित पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला डोटी र अछामको सिमाना चौखुट्टेबाट पक्राउ परेका थिए । समातिएकाहरुलाई नेपाल प्रहरीका उच्च पदस्थ कर्मचारीहरुले भारत समक्ष बुझाएका थिए । स्रोतका अनुसार पक्राउ परेका भारतीय प्रहरी माथि थप अनुसन्धान भैरहेको छ ।

प्रहरीले घटनामा संलग्न गाडी त्रिपालले छोपेर राखेका छन् । पत्रकारहरुलाई फोटो खिच्न पनि दिइएको छैन । डोटीमै घर भएका दुई नेपालीहरुको सहयोगमा उनीहरु धनगढीस्थित पीएस टुर्स एण्ड ट्राभल्सबाट गाडी रिजर्भ गरी डोटी आएका थिए । ‘मलाई डोटीको शैलेश्वरी घुम्न जाने भनेर गाडी मागे, त्यहाँ पुग्दा राति हुन्छ अहिले नजानुस् भन्दा मानेनन्,’ पिएस टुर्स एण्ड ट्राभल्सका संचालक पदम सिंहले भने, ‘दुईजना नेपाली थिए, बाँकी ५ भारतीय थिए । उनीहरुले गाडी मिलाइदिन बारम्बार दबाब दिएपछि पर्यटकका हिसाबले जीप खोजी दिएको हुँ ।’
             पक्राउ गरिएका आउजीका छिमेकीका अनुसार राति करिव २ बजे भारतमा मजदूरी गर्दै आएका लडागडाकै प्रसाद कार्कीलाई उतैबाट समातेर लालबहादुर आउजीको घर देखाउन लगाएका थिए । भारतीय प्रहरीले लालबहादुरलाई घरमा सुतीरहेको अवस्थामा पक्राउ गरेका हुन् । प्रसादले मध्यरातमा ढोका खोल्न भनेपछि लालबहादुरकी श्रीमतिले ढोका खोलेकी थिइन् । एक्कासी भारतीय प्रहरी घरभित्र पसेर कुटपीट गर्नुका साथ जबरजस्ती गाडीमा बन्धक बनाएर ल्याएका थिए ।’  

           घटना लगत्तै स्थानीयले लडागडा प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । लडागडा प्रहरी कार्यालयले गाडी समात्न नसकेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएका थिए । प्रहरी कार्यालयले कार्यालय बन्धक बनाइएका आउजीसहितलाई पक्राउ गरेको थियो । लालबहादुर आउजी चार महिना अघि भारतबाट चोरी गरेर नेपाल आएको स्रोतले बताएको छ । लालबहादुरका आफन्तका अनुसार उनलाई हिरासतमा राखिएको छ र कसैलाई भेट्न दिइएको छैन । लालबहादुरका आफन्तले अवैध रुपमा आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले प्रहरी प्रमुखको कक्षमा राखेको छ भने लालबहादुरलाई थुनामा राखेको आरोप लगाएका छन् ।

       घटनाबारे जिल्ला प्रशासन कार्यालय डोटी पनि बेखबर छ । जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी एक कार्यक्रमका लागि कार्यालय बाहिर छन् । कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेले आफूलाई यस बारेमा कुनै जानकारी नभएको बताए । नेपालको सीमाभित्र भारतीय आएर राति दुई बजे अपहरण गर्ने हिम्मत गर्नु सामान्य कुरा नभएको स्थानीय कानून व्यवसायीको बुझाइ छ । उनी भन्छन्, ‘यस घटनाले नेपालको सुरक्षा अवस्था प्रष्ट देखियो, नेपाल प्रहरीको सक्षमतामाथि पनि प्रश्न उठेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्