Logo

संविधान कार्यान्वयनका लागि राजिनामा फिर्ता : गृहमन्त्री निधि

वैशाख २१, २०७४,गृहमन्त्री विमलेन्द्र निधिले संशोधन मार्फत संविधान कार्यान्वयन गर्न पार्टी सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा आफूले राजिनामा फिर्ता लिएको बताएका छन् । जानकी नवमीमा सहभागी हुन आज गृहनगर जनकपुर आएका गृहमन्त्री निधी जनकपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मधेसीको माग पूरा गरी घोषित स्थानीय तहको निर्वाचन सफल बनाउन आफूले राजिनामा फिर्ता लिएको बताए ।

                ‘संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक संविधान कार्यान्वयनभन्दा ठुलो कार्यभार अरु कुनै हुन सक्दैन । यस दायित्वलाई निर्वाह गर्न मैले राजिनामा फिर्ता लिएको छु,’ उनले संचारकर्मीहरुसंग भने । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गराएपछि, आफ्नो पदबाट राजिनामा दिएका गृहमन्त्री निधीले महाअभियोग बारे आफ्नो असन्तुष्टी अझै पनि कायमै रहेको उल्लेख गरे । निधिले राजिनामा दिए यता नेपाली कांग्रेस धनुषाका निधि समर्थकहरु पार्टी नेतृत्वप्रति आक्रोशित बनेका थिए । उनि जनकपुर आउने सूचना प्राप्त भएपछि धनुषा, महोत्तरी, सिरहा, सप्तरी तथा सर्लाहीका निधि पक्षधर कांग्रेस नेताहरु जनकपुर विमानस्थल पुगेका थिए । विमानस्थलबाट सीधा जानकी मन्दिर पुगेका निधि जानकी नवमीको अवसरमा आयोजित जानकी जन्म हर्ष बधाईमा सहभागी भएका थिए । अपरान्ह जनकपुर उद्योग वाणिज्य संघमा आयोजित कांग्रेसका अगुवा कार्यकर्ता भेलालाई पनि उनले सम्बोधन गरेका थिए । निधि भोली बिहान महावीर युवा कमिटिको पद हस्तान्तरण तथा सपथ ग्रहण समारोहमा सहभागी भई अपरान्ह राजधानी फर्किने कार्यक्रम छ । 

                   एजेन्सी

प्रतिक्रिया दिनुहोस्