Logo

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले नेपालमा प्रजनन स्वास्थ्य सेवाका रकम कटौती नगर्ने

जेष्ठ १३,काठमाण्डौं -अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले मातृ स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन संघलाई प्रदान गरिँदै आएको आर्थिक एवं प्राविधिक सहयोगमा कुनै कटौती नहुने जानकारी गराएको छ । 

अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया, नर्वे, फिनल्याण्ड जस्ता प्रमुख देशले महासंघ मार्फत नै संघलाई सो क्षेत्रमा विगत छ दशकदेखि आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्दै आएका छन् । 

अमेरिकाले अमेरिकी सहयोग नियोग (युएसआइडी) मार्फत सन् २०१९ सम्म महासंघ मार्फत नै संघलाई रु ५५ करोड र अन्य देशले २० करोड भन्दा माथि सहयोग गर्ने प्रतिबद्धता जनाएको थिए । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि विशेष गरि गर्भपतन सेवामा अमेरिकाले विकासशील देशलाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग कटौती गर्ने घोषणा पछि सर्वत्र चासो र चिन्ताको विषय रहेको थियो । तर अमेरिकाले आफूले दिने भनेको रकममा कुनै कटौती नहुने जानकारी महासंघलाई दिँदै कामलाई निरन्तरता दिन जानकारी महासंघलाई दिएको छ । 

नेपालको पाँचदिने भ्रमणमा रहेका महासंघका महानिर्देशक टेबड्रोस माइसले संघबाट  आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै संघबाट सञ्चालित यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रममा आर्थिक अभाव नहुने जानकारी दिए। सन् २०११ मा उनले महानिर्देशकको पद सम्हालेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका थिए। 

विश्वका १७२ देश सदस्य रहेको महासंघमा नेपाल परिवार नियोजन संघले सन् १९६० मा अस्थायी सदस्यता र सन् १९६९मा पूर्णकालीन सदस्या प्राप्त गरेको थियो । नेपाल सरकारको आर्थिक सहयोग बिना नै संघले महासंघको आर्थिक सहयोगमा परिवार नियोजन तथा मातृ स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य सेवा विभिन्न ४० जिल्लामा प्रदान गरिरहेको छ । हालसम्म यस्ता सेवा प्राप्त गर्नेको सङ्ख्या लाखौँ रहेको संघले दावी गरेको छ । 

सङ्घको अहिले सो क्षेत्रमा वार्षिक रुपमा रु ५० करोड बजेट रहेको छ । महासंघका महानिर्देशक माइसले गरिब, सीमान्तकृत, सामाजिक रुपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट विमुख वर्गमा परिवार नियोजन तथा यौन तथा प्रजनन सेवाको पहुँच बढाउन महासंघले आगामी दिनमा नेपालमा थप लगानी गर्ने जानकारी पत्रकार सम्मेलनमा दिए। 

उनले भने, “नेपाल परिवार नियोजन संघले खासगरी दुर्गम क्षेत्र गरिब, सीमान्तकृत, सामाजिक रुपले बहिष्कृत, अल्पसंख्यक र सेवाको पहुँचबाट विमुख वर्गमा परिवार नियोजन तथा यौन तथा प्रजनन सेवा उत्कृष्ट रहेको छ । हामी अगामी दिनमा यस्ता सेवालाई अझ गुणस्तरीय बनाउन चाहन्छौँ ।” 

यसैबीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र महानिर्देशक माइसकाबीच आजै भेटघाट भएको छ । सो अवसरमा उनीहरुका बीचमा अगामी दिनमा परिवानर नियोजन र प्रजनन् स्वास्थ्यका गर्ने कामका बारेमा कुराकानी भएको थियो । 

महानिर्देशक माइस र संघका अध्यक्ष अमुसिह सिजापति, कार्यकारी निर्देशक उमेशराज पाण्डे र महासंघका कार्यक्रम निर्देशक जगदीश्वर घिमिरेका बीचमा पनि संघका गतिविधि र कार्यक्रमका बारेमा कुराकानी भएको थियो । महानिर्देशक माइसले नेपाल परिवार नियोजन संघले गरेका काम अन्तर्गत काभ्रे र भक्तपुरमा स्थलगत अवलोकन गर्ने र संघको ३९ औं केन्द्रीय सभामा उपस्थित हुने कार्यक्रम रहेको छ । 

पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमुसिंह सिजापतिले परिवर्तित अवस्थामा संघको कार्यक्षेत्रमा व्यापक परिवर्तन गरिने जानकारी दिए। उनले संघलाई कम्पनी ऐनमा दर्ता गरी आफ्नो सेवालाई पोलिक्लिनिक मार्फत प्रदान गरिने बताए। 

यसका लागि संघको ३९ औँ केन्द्रीय सभा भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ ।

   रासस 

प्रतिक्रिया दिनुहोस्