Logo

महाभियोग फिर्ता लिन सत्ता पक्ष सहमत

स्तावेज संवाददाता ,जेष्ठ १३, काठमाण्डौं – प्रमुख तीन दलबीच संसदमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध अघिल्लो महिना दर्ता गराइएको महाभियोगको प्रस्ताव फिर्ता लिने सहमति भएको छ।सभामुख ओनसरी घर्तीको कार्यकक्षमा शनिबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको माग अनुसार उक्त महाभियोग फिर्ता लिएर चुनावमा केन्द्रित हुने सहमति भएको नेताहरुले बताएका छन्।

      वैशाख १७ गते सत्तधारी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कार्यकारीको अधिकारमा हस्तक्षेप गरेको र न्यायलयमा गुटबन्दी गरेको लगायत आरोप लगाउँदै कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। संसद अवरुद्ध गरिरहेको नेकपा एमाले आफ्ना मागहरु सम्बोधन गर्ने सहमति भएकाले संसद अधिवेशन चल्न दिन सहमत भएको छ। सर्वोच्च अदालतले उक्त महाभियोग प्रस्ताव असंवैधानिक रहेको ठहर गरेपछि एक साता पनि नबित्दै प्रधान्यायाधीश कार्की पुन: काममा फर्किएकी थिइन्। त्यसयता संसदमा विचाराधीन उक्त प्रस्ताव पनि फिर्ता लिनुपर्ने माग विपक्षी एमालेले राखिरहेको थियो।

     आइतबार बिहानसम्म उक्त प्रस्ताव फिर्ता लिने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका छन् , शनिबार बिहान बसेको मुख्य तीन दलको बैठकले स्थानीय तहको संख्या बढाउने मन्त्रिपरिषदको निर्णयबारे सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्ने निष्कर्ष निकालेको उनको भनाइ छ ।

       अवरूद्ध व्यवस्थापिका संसदको बैठक सुचारु गर्नका लागि सहमति जुटेको छ । शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकबाट संसद खुलाउने सहमति जुटेको हो । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उठाएका मागहरु सरकारले सम्बोधन गर्ने भएपछि संसद अवरोध हट्ने भएको छ । 

      वैशाख ३१ को पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्न र टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्ष सहमत भएपछि संसद बैठक अघि बढाउने सहमति भएको हो । 

      एमालेको माग बमोजिम पहिलो चरणको स्थानीय चुनावमा भएका अनियमितता छानबिन गर्न प्रमुख पाँच दलका प्रतिनिधि सम्मिलित छानबिन समिति बनाउने सहमति नेताहरुले गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तीन दलका शीर्षस्थ नेताबीच भएको सहमति सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन्। सभामुख ओनसरी घर्तीले दलहरुको सहमतिसँगै संसदको बैठक सञ्चालनको ढोका खुलेको प्रतिक्रिया दिएकी छन्। संवैधानिक प्रावधान अनुसार सरकारले सोमबार आगामी आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत गर्नैपर्ने बाध्यता छ ।

     बैठकमा सहभागी नेकपा एमालेका नेता माधवकुमार नेपालले पनि आफ्नो पार्टीको माग सम्बोधन गर्न सत्तापक्ष तयार भएकाले आजैदेखि संसदको बैठक सुचारु हुने बताएका छन्। । उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भएको बताए ।नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गराउन र सरकारको नीति तथा कार्यक्रम पारित गराउन लगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको जानकारी दिएका छन् ।

      बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिका साथ अघि बढ्ने समझदारी भएको थियो । 

प्रतिक्रिया दिनुहोस्