Logo

इजिप्टमा कोप्टिक इसाईहरुमाथि हमला

इजिप्ट मे २६,इजिप्टमा बन्दूकधारीहरुले कोप्टिक इसाईहरुलाई लिएर गैरहेका दुईवटा बसहरुमा हमला गर्दा कैयौंको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।एक स्थानीय अधिकारीले कायरोभन्दा दक्षिणतर्फ रहेको मिन्यामा गरिएको हमलामा कम्तीमा २६ जनाको ज्यान गएको बताए। अरू कैयौं घाइते भएका छन् । यो इजिप्टमा हालैका दिनहरुमा कोप्टिक इसाईहरुमाथि गरिएको तेश्रो ठूलो हमला हो । कोप्टिक इसाई धर्मावलम्वीहरुलाई एउटा धार्मिक केन्द्रतर्फ लिएर गैरहेका बसहरुमाथि घात लगाएर ती हमला गरिएका थिए । रोयटर्स समाचार संस्थाले ती कोप्टिक इसाई धर्मावलम्वीहरु पश्चिमी मिन्यास्थित सेन्ट स्यामुएलको प्राचीन गिर्जाघरमा प्रार्थना गर्न गैरहेका जनाएको छ ।

        त्यस्तै प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै स्वास्थ्य मन्त्रालयले सैनिक पोशाक लगाएका आठ देखि दश जना हमलाकारीहरुले ती बसहरु रोकेको र त्यसपछि गोली चलाउन थालेको जनाएको छ। इस्लामिक स्टेट भनिने समूहको इजिप्टस्थित शाखाले सो हमलाको जिम्मा लिएको छ।

        गत एप्रिल महिनामा दुईवटा कोप्टिक गिर्जाघरहरुमा गरिएका हमलामा चालिसजना भन्दा बढीको ज्यान गएको थियो।त्यसपछि राष्ट्रपति अब्दुल फतेह अल सीसीले तीन महिने देशव्यापी आपत्कालको घोषणा गरेको थिए। उनले जिहादीहरुसंग जुध्न राज्यले हरसंभव प्रयास गर्ने पनि जनाएका थिए।

          तर कतिपय कोप्टिक इसाईहरु सरकारले उनीहरुको सुरक्षाकालागि पर्याप्त ध्यान नदिएको आरोप लगाउँछन्। इजिप्टको कूल ९ करोड २० लाख जनसंख्यामध्ये झण्डै १० प्रतिशत कोप्टिक इसाई धर्मावलम्वीहरु रहेका छन्। इसाई धर्मको एउटा पुरानो शाखा मानिने कोप्टिक इसाईहरुको मुख्य बसोबास इजिप्टमा रहेको छ।

       इजिप्ट बाहिर कोप्टिक अर्थोडक्स गिर्जाघरका झण्डै दशलाख अनुयायीहरु छन्।रोमन साम्राज्यका पालामा र पछि इजिप्ट एउटा मुसलमान मुलुक बनेपछि पनि आफुहरु प्रति भेदभाव कायमै रहेको कोप्टिक इसाईहरु गुनासो गर्दछन्। कायरोस्थित बीबीसी संवाददाता अर्ला गीरिन भन्छिन्, अहिले कोप्टिक इसाईहरुमा साँच्चिकै त्रासको भावना छ र उनीहरु आफुहरुलाई जानी जानी निशाना बनाउने काम भैरहेको ठान्दछन्।

    एजेन्सी

प्रतिक्रिया दिनुहोस्