ललितपुर महानगरपालिकामा कांग्रेसको जित, चिरिबाबु महर्जन बिजयी
दस्तावेज संवाददाता,जेष्ठ,१०,२०७४ काठमाण्डौं,गएराति प्राप्त हुन गएको स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन बिजयी भएका छन् । निर्वाचनको परिणाम अनुसार श्री महर्जनले आफ्ना निकटतम प्रतिद्धन्दी हरिकृष्ण ब्यन्जनकारलाई ३२६ मतले पराजित गर्दै बिजयी भएका हुन् ।
चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत ल्याएर अग्रपंक्तिमा आए भने एमालेका हरिकृष्ण ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको छ । यसैगरी साझा पार्टीका उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत पाएर पछाडि परेका छन् । ललितपुर महानगरपालिका जितेसँगै कांग्रेस विजयी भएका स्थानीय तहको संख्या १०४ पुगेको छ । उपमेयर पदमा पनि नेपाली काँग्रेसकै उम्मेदवार गीता सत्याल बिजयी भएकी छन् । श्री सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले हराइन् । उनले १९ हजार ८१९ मत ल्याएकी छिन् भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन् । यसका साथै एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपा र नेकपा एमालेका संयुक्त उम्मेदवार बाबुकाजी शाक्यले साझा पार्टीका उम्मेदवार शोभा शाक्यले भन्दा कम मत ल्याएका छन् । श्री शाक्यले १० हजार ५ सय ४७ मत ल्याएर पछाडि परेका छन् ।