Logo

१२ वर्षीया बालिका बलात्कृत

स्तावेज संवाददाता,जेष्ठ ९, २०७४, कञ्चनपुरको बेलौरी नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै छ महिनापछि सार्वजनिक भएको छ । ५ दिनअघि बालिकाले पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकी लगेका आफन्तले बालिका गर्भवती भएको थाहा पाए लगतै प्रहरीलाई खबर गरेका थिए । बलात्कारका आरोपी स्थानीय ४० वर्षीय राधे राना भने फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले बताएको छ । राना थारू समुदायकी ती बालिकाका बुबा भारतमा काम गर्छन् । आमाको पनि मानसिक अवस्था ठीक छैन । पीडिइत बालिकाको बुबा भारतमा मजदुरी गर्छन । आमाको पनि मानसिक अवस्था ठिक नभएको कारण मौका छोपेर राधेले बालिकामाथि पटक–पटक बलात्कार गरेको  थियो ।  स्थानीयले गाउँमै मुद्दा मिलाउने भन्दै सहयोग नगरेका कारण आरोपीलाई समात्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।  बालिकाकी माइजूलाई बोलाएर केही दिनअघि जाहेरी दिन लगाएर अनुसन्धान सुरु गरिएको छ । 

                घटना बाहिर आएदेखि नै भद्र भलाद्मीहरु बोलाएर  मिलाउने काम भइरहेको छ, लेनदेनमा कुरा नमिलेका कारण प्रहरीसम्म पुगेको र पुन: गाउँमै मिलाउन खोजिएको छ । सादा पोसाकमा प्रहरी खटाउँदा समेत गाउँलेले सहयोग नगरेका कारण अभियुक्त समात्न कठिनाई भैरहेको छ । बिश्वस्त सुत्रका अनुसार राधे गाउँमै भएको र उनको फोन समेत लागिरहेको छ । सिविन नेपाल र ओरेक नेपालको टोलीले बालिकालाई सेफ हाउसमा लैजान खोजे पनि उनले राधेसँगै जाने अडान लिएको स्थानिय बासिन्दाहरु बताउँछन् । तरपनि बालिकालाई पूर्णरूपमा काउन्सिलिङ गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्