थाहा नगरपालिकामा एमाले अगाडी
दस्तावेज संवाददाता जेठ,१,२०७४ – हेटौँडा, मकवानपुरको थाहा नगरपालिकामा भएको मतगणनामा नेकपा एमालेको पकड अगाडी रहेको छ । वडा नम्बर पाँचको चार सय मत गणना हुँदा नेकपा एमालेको मेयर उम्मेदवार विष्णु ढकालले एकसय ५६, उपमेयर उम्मेदवार कल्पना बलामीले एकसय ५१ मत प्राप्त गरेका छन ।
काँग्रेस, माओवादी केन्द्र एलाइन्सका मेयर उम्मेदवार लवशेर विष्टले एकसय ४० र उपमेयर उम्मेदवार खड्ग गोपालीले एकसय २५ मत प्राप्त गरिसकेका छन । थाहामा राती एक बजेदेखि मत गणना जारी छ । यसैगरी बाग्मती र मनहरी गाउँपालिकामा पनि मत गणना जारी रहेको छ । प्रारम्भिक मत परिणाम आइसकेको छैन ।
हेटौँडा उपमहानगरपालिकामा भने आज बिहान ७ बजेदेखि हुने भएको छ । दलहरुबीच आइतबार राती भएको छलफलमा बिहान ७ बजदेखि मतगणना गर्ने सहमति भएको प्रमुख निर्वाचन अधिकृत दयाराम ढकालले बताउनुभयो । मत गणना जिल्ला समन्वय समितिको हलमा गरिने उहाँले जानकारी दिनुभएको छ । अन्य ६ गाउँपालिकामा भने मत गणना सुरु भएको छैन ।