Logo

ऐतिहासिक निर्वाचन आज

तीनवटा प्रदेशमा आइतबार भइरहेको स्थानीय निर्वाचनको सन्दर्भ पत्रपत्रिकाले उच्च महत्व दिएर समाचार तथा लेख रचना प्रकाशित गरेका छन्।कान्तिपुर दैनिकले प्रथम पृष्ठमा ‘२० वर्षपछि स्थानीय चुनाव’ भन्ने मुख्य समाचार बनाएको छ।साथै उसले भित्री पृष्ठमा निर्वाचन आयोगका सचिवको अन्तर्वार्तामा मत बदर नहोस् भनेर ख्याल राख्न मतदातालाई अनुरोध गरिएको उल्लेख गरेको छ।अन्नपूर्ण पोष्टले प्रथम पृष्ठमै ‘पहिलो चरणको निर्वाचन आज’ भन्ने शीर्षकमा आँकडाका साथ हरेक प्रदेशका स्थानीय तह अनि मतदाता संख्या, मतदान केन्द्र, सुरक्षा परिचालनको चित्र प्रस्तुत गरेको छ।नयाँ पत्रिका दैनिकले ‘ऐतिहासिक निर्वाचन भन्दै महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्न र सिंहदरबारको सेवा गाउँगाउँमा पुर्याउने पहिलो निर्वाचन आज’ भनेर लेखेको छ।नागरिक दैनिकले प्रमुख निर्वाचन आयुक्तले ढुक्क भएर मतदान गर्न गरेको आह्वानलाई समेट्दै प्रमुख समाचार बनाएको छ।

उत्साह

चुनावप्रति जन उत्साह जनाउने गरि उसले धादिङको एक दुर्गम गाउँमा मतदाताहरु मतदान केन्द्रमा दुई दिन हिंडेर आइपुगिसकेको लेखेको छ। ३९ प्रतिशत महिला उम्मेदवार शीर्षकमा उसले भित्री पृष्ठमा छुट्टै खबर पनि छापेको छ। उसले निर्वाचन आयोगको हवाला दिंदै कर्मचारी सुरक्षाकर्मी गरि तीन लाख जनशक्ति चुनावमा खटिएको र तिनले मतदानको अधिकार गुमाएको समाचार दिएको छ।नेपाल समाचारपत्रले ‘बल्ल आयो जनताको पालो: आज निर्वाचन महाउत्सव’ भनेको छ।अनलाइनका समाचार वेबसाइटहरुले पनि निर्वाचनको विषयलाई प्रमुखताका साथ उल्लेख गरेका छन्। सेतोपाटीले ‘तयार छन् मतदान केन्द्र’ भनेर निर्वाचनको तयारीलाई प्राथमिकता दिएको छ भने अनलाइन खबर ले ‘वैशाख ३१ २० वर्षे प्रतीक्षाको फल’ भन्दै विभिन्न उपशीर्षकमा समाचार छापेको छ।सबैजसो पत्रिकाले शीर्ष नेताहरुले मतदानमा सहभागी भइ आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरेको खबर पनि छापेका छन्।

सम्पादकीय टिप्पणी

राजधानी दैनिकले विशेष सम्पादकीय लेखेको छ।उसले संविधान कार्यान्वयनको यो पहिलो महत्वपूर्ण खुट्किलो भन्दै चुनावलाई ऐतिहासिक अवसर र जिम्मेवारी भनेको छ।नागरिक दैनिकले ‘आफ्नै सरकारको अभ्यास’ शीर्षकमा सम्पादकीय लेखेको छ। यो निर्वाचनले सिंहदरबारमा रहेको राजनीतिक अधिकार जनस्तरसम्मै पुर्याउने उसले उल्लेख गरेको छ।कान्तिपुर दैनिकले ‘मताधिकार सदुपयोग गरौं’ भन्ने शीर्षकको सम्पादकीयमा पहिलो चरणको निर्वाचनले दोस्रो चरणको निर्वाचनका निम्ति पनि आधार तयार पार्ने बताएको छ।लामो समयपछि मात्रै होइन यो निर्वाचन पुरानो स्थानीय निकायको भन्दा तात्विक रुपमै भिन्न रहेको उसले भनेको छ।उसले लेखेको छ , ‘राज्य सञ्चालनका कुनै कुरामा चित्त नबुझ्दा हामी नेता र राजनीतिक दलहरुको आलोचना गर्ने गर्छौं यसका लागि आज आफ्नो अधिकार नै प्रयोग गर्न पाइने दिन हो।’

प्रतिक्रिया दिनुहोस्