Logo

लाक्पा आठौं पटक सगरमाथाको चुचुरोमा पुग्न सफल

आठौं पटक सगरमाथाको सफल आरोहण गरेर लाक्पा शेर्पाले विश्वकै सर्वोच्च शिखरमा धेरै पटक पुग्ने आफ्नै विश्व कीर्तिमान ‘तोडेकी’ छिन्। ४४ वर्षीया शेर्पाले शनिबार बिहान तिब्बतपट्टिको मोहडाबाट सगरमाथामा पाइला टेकेको उनका भाइ तथा पर्वतारोहण व्यवस्थापक मिङमा गेलु शेर्पाले बीबीसी नेपालीलाई बताए।तिब्बतपट्टिको आधार शिविरबाट टेलिफोनमा कुरा गर्दै उनले आफ्नी दिदीले बिहान ६ बजेर ३५ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेको जानकारी दिए।मिङमाले भने, “दिदीले रेडियो सेटबाट मसँग कुरा गर्दै आफू सकुशल रहेको र अन्य शेर्पाहरुसँग अब ओर्लिन लागेको बताउनुभयो।”

मौसम

यसबारे चिनियाँ अधिकारीहरुबाट आधिकारिक पुष्टि भएको जानकारी प्राप्त भइसकेको छैन । गत वर्ष बीबीसी नेपालीसँग कुरा गर्दै लाक्पाले आफूले १० पटक सगरमाथा चढ्न चाहेकी बताएकी थिइन् । सन् २००० मा उनले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । तीन सन्तानकी आमा लाक्पा शेर्पा हाल अमेरिकामा बस्दै आएकी छिन् । शनिबार नै ६ जना भारतीय पर्वतारोहीले पनि सगरमाथाको आरोहण गरेको मिङमाले बताए।उनका अनुसार तिब्बतपट्टिबाट यसपालि झण्डै ३०० सय पर्वतारोहीहरु सगरमाथा चढ्ने तयारीमा जुटेका छन्।नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार नेपालपट्टिबाट सगरमाथा आरोहणका लागि ७०० जति पर्वतारोहीहरु उपयुक्त मौसमको प्रतीक्षामा छन्।

प्रतिक्रिया दिनुहोस्