Logo

मतदानमा सहभागी हुन मतदातालाई अपील

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन तयारी पूरा भएको जनाउँदै पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् । कुल ७४४ स्थानीय तहमध्ये २८३ स्थानका लागि आइतबार चुनाव हुन लागेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले भने, “भोलि आइतबार बिहान सात बजेदेखि अपरान्ह पाँच बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेकाहरुले मतदान गर्न पाउनुहुनेछ।”यादवले ‘राष्ट्रका लागि समय प्रदान गरी दुख सहेर भएपनि मतदानमा सरिक भइ आफूले रोजेको योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन । 

संविधान कार्यान्वयनको कडी

निर्वाचनमा पुरुष र महिला उम्मेदवारको संख्या खुलाउँदै मुख्य निर्वाचन आयुक्त यादवले भने, “कुल ४९ हजार ३ सय ३७ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन्।”करिब डेढ वर्षअघि संविधानसभामार्फत संविधान जारी भएपछि हुन लागेको निर्वाचनलाई संविधान कार्यान्वयनको कडीको रुपमा अर्थ्याइएको छ।स्थानीय भनिएपनि राष्ट्रिय महत्वका साथ प्रचार प्रसार गरिएको निर्वाचनको पूर्व सन्ध्यामा मुख्य दलका प्रमुख नेताहरु र राष्ट्रपतिले विज्ञप्ति जारी गर्दै मतदानमा सामेल हुन मतदाताहरुलाई अनुरोध गरेका छन्।

मतपत्र

चुनावमा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणाली अपनाइएको छ।हरेक वडामा महिला सदस्य र महिला दलित सदस्य तथा प्रमुख या उपप्रमुखमध्ये एक महिला हुनैपर्ने बाध्यकारी व्यवस्थाका कारण देशभरमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिमा अभूतपूर्व रुपमा महिलाहरुको संख्या वृद्धि हुनेछ।

सुदृढीकरणको अवसर

देशको आधाभन्दा केही कम क्षेत्रमा हुन लागेको पहिलो चरणको निर्वाचनको ठीक एक महिनापछि तय गरिएको दोश्रो चरणको निर्वाचनका लागि बाँकी क्षेत्रलाई तयार रहन प्रधानमन्त्री प्रचण्डले विज्ञप्तिमार्फत आग्रह गरेका छन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनलाई लोकतन्त्र सुदृढीकरणको अवसर भनेका छन्।त्यसैगरी मुख्य विपक्षी दलका नेता केपी ओलीले मतदानमा सहभागी हुन आग्रह गरेका छन्।राष्ट्रपति बिध्यादेवी भण्डारीले पनि एक विज्ञप्ति जारी गर्दै तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यो निर्वाचनको विशेष महत्व रहेको भन्दै मतदानमा सहभागी बन्न आग्रह गरेकी छन्।स्थानीय तह पुनर्संरचनापछि हुन लागेको निर्वाचन र जनप्रतिनिधिलाई दिइएको नयाँ अधिकारका कारण कतिले यसलाई परीक्षण निर्वाचनका रुपमा समेत हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्