Logo

नक्कली बमका कारण पृथ्वी राजमार्ग तीनघण्टा अवरुद्ध

वैशाख ३०, २०७४- स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा नेकपा विप्लव समूहले पृथ्वीराजमार्गलगायत विभिन्न ६ स्थानमा बमजस्ता देखिने शंकास्पद वस्तु राखेर शनिबार विहान राजमार्ग अवरुद्ध गरेको छ । ‘एकाबिहानै दुई जना अपरिचित व्यक्तिले सडकमा झोला राखेर गए गाडी नआउन भन्नु भनेर गए’, मलेखु सदरमुकाम खण्डस्थित कालीदहकी महिलाले भनिन् । कालीदहको कजवेमा पुरानो प्रेसर कुकर र अलि पर झोलामा घोप्टो पारेर राखेको डेक्ची थियो । 

         सडकमा बम राखेको भन्ने हल्लाले राजधानी लगायत विभिन्न स्थानबाट रिजर्भ गरी मतदान गर्न आएका यात्रुहरु तीन घण्टा रोकिएका थिए । सदरमुकामस्थित देवीदत्त गणको प्राविधिक टोलीले आवश्यक निरीक्षण गरी शंकास्पद वस्तु हटाएपछि यातायात सञ्चालन गरिएको थियो । यसअघिका बन्दमा सवारी साधनमा आगजनी गरेका थिए । ‘नेपाल बन्दलाई सफल बनाउन त्रास फैलाउनकै लागि शंकास्पद वस्तुहरु राखेको देखिन्छ’सदरमुकामस्थित देवीदत्त गणका मेजर दिनेश मल्लले बताए 

           विप्लव समुहले शनिबारको बन्द प्रभावकारी बनाउन पृथ्वी राजमार्गका विभिन्न स्थानमा शंकास्पद वस्तु र प्रेसर कुकर राखेर राजमार्ग ठप्प बनाएको थियो । जुगेखोला, महादेवस्थान र गजुरीको घाटबेंसीमा नेपाली सेनाको टोलीले सडकमा राखिएका शंकास्पद वस्तुहरु हटाई राजमार्ग सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्