Logo

सम्भव भए भोलि साँझै वा पर्सीसम्ममा मतगणना हुने

काठमाण्डौं,स्थानीय तहको पहिलो चरणको मतदान सकिएपछि सुगम जिल्लाहरुमा आइतवार रातिबाटै र दुर्गम एवं हिमाली क्षेत्रहरुमा सोमबारबाट मतगणना शुरु हुन सक्ने निर्वाचन आयोगले बताएको छ। तर कानूनले मतपेटिका संकलन भइसकेपछि स्थानीय प्रतिनिधिहरुको रोहबरमा मतगणनाको समय तोक्ने अधिकार निर्वाचन अधिकृतहरुलाई दिएको छ।३४ वटा जिल्लाका २८३ वटा स्थानीय तहमध्ये २ वटामा निर्विरोध रुपमा जनप्रतिनिधिहरु निर्वाचित भएका छन्।मतदान हुने २८१ वटा स्थानीय तहमध्ये सम्बन्धित तहकै कार्यालय वा निर्वाचन अधिकृतले तोकेका अन्य कार्यालयहरुमा मतगणना गर्ने योजना बनाइएको छ।

मतपेटिका संकलन

मतदान सकिए लगत्तै स्थानीय प्रशासन र सुरक्षा निकायको सहयोगमा मतपेटिका संकलन शुरु गरिने छ।निर्वाचन आयोगका अनुसार मतदान केन्द्रबाट मतपेटिका मत गणनास्थलमा पुर्याउन अधिकांश स्थानमा ३ देखि ५ घण्टा र हिमाली एवं दुर्गम जिल्लाहरुमा ८ देखि १२ घण्टासम्म लाग्ने अनुमान छ।

              आयोगका एकजना सहसचिव दीपक सुवेदीले भने, ‘कर्णाली अञ्चलका केही गाउँहरु अलिकति टाढा भएकोले मतपेटिका संकलन गर्न १२ घण्टासम्म लाग्न सक्छ भन्ने विवरण पाएका छौँ, हिमाली जिल्लामा सम्भवत: भोलिपल्ट मतगणना शुरु हुनसक्छ भने पहाडी जिल्लामा पनि चार पाँच घण्टा भित्रमा सम्पूर्ण मतपेटिकाहरु मतगणना केन्द्रसम्म ल्याउन सकिने जानकारी आएको छ।”गृहमन्त्रालयले सुरक्षा संवेदनशीलता हेरेर नेपाल र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी गरेको छ।

मतगणना

गणना गर्नुपर्ने मत, उपलब्ध स्थान र सुरक्षा अवस्था अनुसार एकैपटक दुई वा सो भन्दा बढी मतगणना टोली परिचालन गर्ने आयोगको भनाइ छ।मतगणनामा निर्वाचन अधिकृतबाहेक एक-एकजना मतगणना अधिकारी र सुपरीवेक्षकका साथै तीनजना गणक र दलका प्रतिनिधि रहने छन्।निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, “मतपेटिका संकलन भइसकेपछि परिस्थिति हेरेर निर्वाचन अधिकृतले मतगणना शुरु हुने समय निर्धारण गर्नेछन्, कुनै ठाउँमा मतदान भएकै राति र अन्यत्र भोलिपल्टसम्ममा मतगणना शुरु हुने हामीले अपेक्षा गरेका छौँ।”

               निर्वाचन आयोगले मतगणना केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक्ता अनुसार नेपाली सेनासमेत खटाउन सक्ने गरी तीन तहको सुरक्षा घेराको व्यवस्था गर्न लागिएको जनाएको छ। ५१ लाखभन्दा बढी मतदाता संख्या रहेको तीन वटा प्रदेशमा निर्वाचनको निम्ति करीब ७ हजार मतदान केन्द्र तोकिएका छन्। मतदानमा जनसहभागिताको आह्वान गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले शनिबार दिउँसो मतदाताहरुलाई सम्बोधन गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्