Logo

तीनजना मेयर उम्मेदवारको घरमा सकेट बम फेलापर्यो

वैशाख २८, २०७४, स्थानीय निकायको निर्वाचनमा फरक फरक नगरपालिकाका तीनजना मेयर पदका उम्मेदवारको घरमा सकेट बम विस्फोट गराउने प्रयास असफल भएको छ । गैंडाकोट र कावासोतीमा नेकपा माओवादी केन्द्रको मेयरका उम्मेदवारको घरमा बिहीबार सकेट बम फेला परेको छ । गैंडाकोट र कावासोती नगरपालिकाका माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवारहरु क्रमश: दुर्गादत्त ढुंगाना र डांसिराम बस्याल (माइकल)को घर बाहिर राखिएको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । शक्तिशाली भनेर प्रचार गरिए पनि बम निस्कृय बनाउँदा कुनै मानवीय क्षति भने भएको छैन । मध्यबिन्दु नगरपालिकामा मेयरका उम्मेदवार भिमलाल अधिकारीको घरमा पनि सु्त्तली बम फेला परेको प्रहरीले जनाएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ८ स्थित मेयरका उम्मेदवार दुर्गादत्त ढुंगानाको घर बाहिर बालुवाको थुप्रोमा राखिएको सकेट बम सेनाको बज्रदल गणको टोलीले बिहीबार निस्कृय पारेको हो । सकेट बम सेनाको टोलीले नजिकैको खाल्डोमा हालेर निस्कृय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
              त्यसैगरी कावासोती नगरपालिका १५ गोछडामा रहेको माओवादी केन्द्रबाट मेयरका उम्मेदवार डांसिराज बस्यालको घर बाहिर सकेट बम फेला परेको छ । मध्यरातको समयमा बम फालेको आशंका स्थानीयले गरेका छन् । सदरमुकाम परासीबाट आएको सेनाको टोलीले बिहीबार बम निस्कृय पारेको हो । मतदातामा निर्वाचनको माहोल तातेको अवस्थामा उम्मेदवार र मतदातामा त्रास फैलाउन र उम्मेदवारलाई मानसिकरुपमा कमजोर बनाउन माओवादी विप्लव समूहका कार्यकर्ताले बम राखेको अनुमान सुरक्षा निकायले गरेको छ । बम राखिएको घटनाको कसैले पनि जिम्मेदवारी लिएको छैन । विप्लवका कार्यकर्तामाथि निगरानी बढाएको सुरक्षा स्रोतको भनाइ छ ।
               प्रहरीका अनुसार मध्यविन्दु नगरपालिकामा मेयरका उम्मेदवार भिमलाल अधिकारीको घरमा पनि बुधबार राति सुत्तली बम विस्फोट गराउने प्रयास भएको थियो । अधिकारी एमालेबाट मेयरका उम्मेदवार हुन् । बुधबार राति अधिकारीको घरमा सुत्तली बम बिस्फोट गराउन खोज्दा स्थानीयले थाहा पाएपछि विस्फोटक पदार्थ ल्याउनेहरु भागेको स्थानीय घनश्याम ढकालले बताए । निर्वाचन नजिँकिदै जाँदा मतदातामा त्रास फैलाउन त्यस्तो अराजक कृयाकलाप गर्नेहरु सकृय रहेको रहेको भए पनि सबैतिर सुरक्षाकर्मीको गस्ती बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कहींकतै अशान्त वातावरण बनाउने तत्व सकृय रहेको पाइएमा तत्काल नजिकको प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपिल गरेको छ । 

              साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस्