Logo

एन सेलको पुँजीगत लाभकर छुट जसरीपनि असुल उपर गरिने

काठमाण्डौं ,प्रधानमन्त्री पुष्पकमल दाहालले एन सेलको पुाजीगत लाभकर छुट नदिएको भन्दै जसरी पनि असुल उपर गरिने प्रतिवद्धता जनाउनुभएको छ । आईतबार व्यवस्थापिका संसदको लेखा समितिको बैठकमा उपस्थिति प्रधानमन्त्री दाहालले पुँजीगत लाभकर उठाउने बारेमा सरकार गम्भीर र संवेदनशील रहेको स्पष्ट समेत पार्नुभयो । कर असुली बारे  सोचिरहेका बेला प्रधानमन्त्रीको नाममा विक्रेताबाट लिनुपर्नेमा क्रेताबाट लिने काम गरियो भन्ने पत्र प्राप्त भएपछि आफुले त्यसमा टिप्पणी उठाएर अर्थ मन्त्रालयमा पत्र पठाएको र अर्थमन्त्रीले मौखिक रुपमा मन्त्रीपरिषदमा सो विषय प्रस्तुत गर्नुभएको स्पष्ट पार्नुभयो । उहाँले करका सम्बन्धमा औपचारिक ढंगले अर्थ मन्त्रालयबाट प्रस्ताव नै नआएकाले औपचारिक निर्णय केही नभएको पनि स्पष्ट पार्नुभयो ।

                    मन्त्रीपरिषदमा छलफल केबल विषयको गम्भीरतालाई अगाडि लैजान भएको भन्दै उहाले विक्रेताबाट लाभ कर उठाउने विषयमा कहा त्रुटी भयो भनेर छलफल भएको तर मिडियामा आए जस्तो औपचारिक निर्णय केही नभएको बताउनुभयो । कर उठाउने विषयमा कुनै सम्झौता गर्ने पक्षमा सरकार नरहेको भन्दै उहाँले विगतमा भएका विषयको सत्य तथ्य बाहिर आउनुपर्छ भन्नेमा पनि प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । यदि नेपाल सरकारकै कर्मचारीबाट कुनै गल्ती भएको भए त्यसको पनि छानविन गर्नुपर्छ भन्नेमा आफु स्पष्ट रहेको पनि उहाँले उल्लेख गर्नुभयो । मिलेसम्म विक्रेता र क्रेता दुवैलाई संगै राखेर छलफल गरि समुचित निर्णय लिने पक्षमा सरकार रहेको भन्दै उहाले त्यस किसिमको अवस्था नजुटेपनि राज्यले कर उठाउनका लागि कुनै कसुर बाँकी  नराख्ने र तदारुकता देखाउने स्पष्ट पार्नुभयो ।

                     मलेसियाको महत्वपुर्ण सरकारी कम्पनीले खरिद गरेको र उसले आफु अन्यायमा परेको पनि बताईरहेका बेला सबै विषयलाई मध्यनजर गरि त्यसबारे छिटै निर्णय गर्नुपर्ने मनस्थितिमा सरकार रहेको पनि उहाले स्पष्ट पार्नुभयो । एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिन निर्णय मन्त्रीपरिषद्ले गरेको समाचार बाहिर आएपछि सो निर्णयबारे बुझ्न समितिले प्रधानमन्त्री दाहाललाई बोलाएको हो । सो बारे अर्थमन्त्री कृष्णबहादुर महरा र राजस्व सचिव राजन खनालले दिएको जवाफ चित्त नबुझेपछि समितिले प्रधानमन्त्रीलाई नै बैठकमा बोलाएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्